तुंदीखोलामा बन्ने पक्की पुलको माननीय पाण्डेबाट शिलान्यास

332 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको गजुरी गाँउपालिका वडा नं. २ मा पर्ने तुदीखोलामा पक्की मोटरवेल पुल निर्माण हुने भएको छ । निर्माण शुरु हुन लागेको पुलको बिहीवार धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेबाट शिलान्यास गरिएको थियो ।

पुल निर्माण सम्पन्न भएपछि मलेखु–भण्डारा सडक (चेपाङ मार्ग)मा सवारी आवतजावतमा सहज हुनुका साथै धादिङको गजुरी र वेनिघाटरोराङका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । मलेखु–भण्डारा सडक खण्ड अन्र्तगत धादिङको ताल्तीस्थित मलेखु खोलामा मोटरवेल पुल बनेपछि मलेखु हुँदै भण्डारासम्म आवतजावत सहज हुनेछ । यो सडकको निर्माण पछि छिमेकी राष्ट्रभारत र चीन जोड्ने सवै भन्दा छोटो मार्गमा ठोरी कान्द्राङगढी गल्छी केरुङ सडकमा जोडिएर अन्तरराष्ट्रिय सडक बन्ने पुलको शिलान्यास गर्दै सांसद पाण्डेले बताउनु भयो ।

बागमती प्रदेश सरकारले आव २०७९।०८० मा पुल निर्माण गर्न विनियोजन गरेको बजेटबाट भद्रकाली निर्माण सेवाले चार करोड ४४ लाख ९६ हजार तीन सय ८३ रुपयाँमा २०८१ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण कार्य शुरु गरिसकेको छ ।

मलेखु देखि भण्डारसम्मको सडक स्तरोन्नतीका लागि विश्व बैंकले विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको छ । मलेखु कान्द्राङगढी २३ किलो मिटर र कान्द्राङगढी देखि भण्डारा ४६ किलोमिटर गरी ६९ किलोमिटर रहेको छ । विश्व बैंकले यो सडक स्तरोन्नतीमा काम गरेमा १६ किलो मिटर दुरी घटाउने गरी सुरुङ मार्गको प्रस्ताव गरिएको छ । सडक निर्माणले गरिवीसंग लडिरहेका चेपाङ लगायतका समुदायको आर्थिक सम्वृद्धिमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ । मलेखु–भण्डारा सडक २०५० सालबाट निर्माण शुरु गरिएको हो ।