राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती  नेपालमा छापाखाना र पत्रकारिताका जन्मदाता

210 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, २८ भदौ । आज भाद्र कृष्ण कुशे औँसी  नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती  नेपाल राज्यभर र छिमेकी देश भारतमा समेत विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

(१९२३ भदौ २५ – १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।

मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।