राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२८ भदौ बिहीबार,२०८०

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष , पूर्वसभामुख, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको विहिबारपशुपति आर्यघाटमा  अन्त्येष्टि गरिएको छ।  नेम्वाङको शवमा दुई छोराहरू मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए।

छोराहरुले शवमा दागबत्ती दिनुअघि उनको शवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए। अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा, विभिन्न राजनैतिक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि,  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदस्थ सरकारी अधिकारीहरू आर्यघाट पुगेका थिए। अध्यक्ष ओलीले नेम्वाङको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएका थिए।

अन्येष्टिमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। पशुपति आर्यघाटमा नेम्वाङका परिवारजन, आफन्त, शुभचिन्तक पार्टीका नेताकार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। त्यसअघि बालुवाटारबाट शवयात्रा गरिएको थियो।  शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको थियो।

नेम्वाङको सोमबार राति १ बजे निधन भएको हो। शौचालय  गएर फर्किंदा असहज महसुस भएपछि उनलाई रातीनै शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याउनेबित्तिकै चिकित्सकले नेम्वाङको निधन भएको घोषणा गरेका थिए।

शालीन राजनीतिका पर्याय नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको हो। कानुनमा स्नातक गरेका नेम्वाङ केही समय कानुन व्यवसायमा समेत संलग्न भए।विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भएका थिए। २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित भए।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनीत भए।

एमालेको सातौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य र २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने।

२०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य थिए। २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री थिए। २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री थिए। २०५७ सालमा उनी संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए।

२०६३ सालको अन्तरिम उनी सभामुख चयन भए। २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उनी अध्यक्ष बने। २०७४ साल र २०७९ सालको आमचुनावमा नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्।