आज विश्वकर्मा पूजा तथा बास्तु दिवस

220 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
१ असोज २०८०,सोमबार,

काठमाडौं -प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने बिश्वकर्मा पूजा आज उद्योग कलकारखाना, मेशिन,सवारी साधनल गायतको पूजा आराधना गरी मनाईँदैछ ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको प्रतिकका रुपमा बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइने चलन रहेको छ। बालुवा तथा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति पूजा गरिसकेपछि भोली देखि नदी, खोलामा लगी सेलाइन्छ।पुजा गर्नु अघि उद्योग कलकारखाना, मेशिनहरु ध्वजा पतकाले सिंगार्ने समेत गरिन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको बताईन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गरेको विश्वास छ।

यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ।