हरितालिका (तीज) धुमधामका साथ मनाइँदै

159 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
१ असोज २०८० सोमबार

काठमाडौँ– हरेक बर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका (तीज) आज देशैभर र विदेशमा समेत देवादिदेव महादेवको पूजा आराधना गरी  धुमधामका साथ मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहि आएको छ ।आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ ।

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए र साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको मानिन्छ ।