व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई भैरव प्रतिभा पुरस्कार मुन पौडेललाई साहित्यकार र अभि सुवेदीलाई वाङ्ममय पुरस्कार

197 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

असोज २, काठमाडौ
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्धय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो । भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रवार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार गुठीको साधारण सभा पनि सोही दिन हुनेछ ।