बगैंचाबाटै बिक्री भएर सकियो तिप्लिङको स्याउ

212 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
३ असोज ,२०८०

रुवीभ्याली(धादिङ)— धादिङ जिल्लाको हिमाली बस्ती रुवीभ्याली गाउँपालिकाको तिप्लिङमा उत्पादन भएको स्याउ यो बर्ष बगैंचाबाटै बिक्री भएर सकिएको छ । सहज यातायातको सुविधा नहुँदा स्याउ वजार पु¥याउन नसकेर बोटमै कुहिने हो की भन्ने चिन्तामा रहेका किसान बोट बाटै स्याउ बिक्री भएर सकिएकोमा खुसी भएका छन ।

धादिङको तिप्लिङमा व्यवसायिक रुपमा स्याउ खेती शुरुवात भई  उत्पादन हुन थालेको बिषयमा धादिङ न्यूजले २०८० भदौ ५ गते रुवीभ्यालीको मचेत गाउँमा स्याउ लटरम्म ( फोटो फिचर) शिर्षकमा खोजमूलक समाचार प्रकाशित गरेको थियो । धादिङ न्यूजले पहिलो पटक रुवीभ्यालीको स्याउ खेतीको बारेमा समाचार प्रकाशित गरिदिएपछि सोधखोज गर्ने र स्याउ बगैंचा हेर्न धेरै जनाले चासो देखाएको कृषक योहन लामाले वताए ।

धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर १ मचेत गाउँका लरेन्स लामा र योहन लामाले चार बर्ष अघि मुस्ताङको मार्फा बाट विभिन्न जातका २ सय बिरुवा स्याउ ल्याएर आफ्नो ६ रोपनी जग्गामा लगाएका थिए । मार्फाबाट फुजी, गोल्डेन रेड,डेलियसियस र क्रिस्पिन जातका बिरुवा ल्याएर परिक्षणका लागि रोपेकोमा ति स्याउ यो बर्ष बाट फल्न शुरु गरेको थियो । लामा दाजु भाईले व्यवसायिक रुपमा स्याउ खेती गर्न रुवी एग्रो तिप्लिङ नामको फर्म दर्ता गरी सोही फर्मबाट स्याउ खेती गर्न शुरु गरेका हुन ।

स्याउ उत्पादन हुन थालेपछि वजार सम्म लैजान नसकिने हो कि भन्ने चिन्तामा रहेका किसान दाजुभाईले यो बर्ष सोचे भन्दा राम्रो भएको वताएका छन् । गाउँमै स्याउ उत्पादन भएको खबर थाहा पाएपछि साविकको तिप्लिङ, सेर्तुङ र लापा गाविसका वासिन्दाले बगैंचामै पुगेर स्याउ खरिद गरेका थिए । यसैगरी रुवीभ्याली गाउँपालिकामा कार्यरत सरकारी तथा बैंक वित्तिय कार्यालय र गैर सरकारी निकायका कर्मचारी,शिक्षक लगायतले बगैंचामा पुगेर छानी छानी स्याउ किनेर लगेको किसान योहन लामाले वताए ।

बगैंचामा नै पुगेर स्याउ किन्न चाहनेलाई प्रतिकिलो १५० रुपैयाँमा स्याउ बिक्री गरिएको कृषक लामाले जानकारी दिए । स्याउले बारी नै राताम्मे देखिन थालेपछि स्याउ खान र किन्नको लागि आन्तरिक पर्यटक बगैंचामै पुगेका थिए । पहिलो बर्ष ९ सय केजी स्याउ नगदमा बिक्री गरिएको , मुस्ताङको सिको गर्दै १० केजी स्याउको सुकुटी वनाएर परिक्षण गरिएको र एक सय केजी जति बगैंचामा पहिलो पटक पुग्नेलाई स्वाद चाख्न दिईएको किसानहरुले वताए ।

वर्षासँगै बाढीपहिरो आउन सक्ने र सडक यातायात बन्द हुने भएकाले पनि काँचो स्याउ बिक्रीका लागि पठाउनुपर्ने हो की भन्ने चिन्ता थियो । स्याउ भण्डारणका लागि सुविधासम्पन्न कोल्डस्टोर र बजारीकरणको समस्या भएकोमा यो बर्ष भने स्याउ खेर नगएकोमा किसान दाजुभाई खुसी भएका छन् । साविकको तिप्लिङ गाविसका अधिकांश गाउँवस्ती हिमाली भेग भएकाले यहाँको चिसो हावापानीमा स्याउ खेतीको सम्भावना राम्रो देखिएको रुवीभ्याली वडा नम्बर १ का पूर्व अध्यक्ष पेम्वा घले बताउँछन ।यहाँ फलेको स्याउको स्वाद मुस्ताङकै सरह पाईएकाले व्यवसाियक खेती बिस्तार गरेर वजारीकरणको व्यवस्था गरेमा गरिबीको रेखामुनी रहेका रुवीभ्यालीका किसानलाई आर्थिक रुपमा सवल बनाउन सकिने घलेको सुझाव छ ।

 स्याउ खेती बिस्तार गर्ने योजनाका लागि गाउँपालिकाको अन्य भूभागको माटो परिक्षण गराई व्यवसायिक रुपमा स्याउ खेती बिस्तारका लागि गाउँपालिका र अन्य सरकारी निकाय संग समन्वय गरेर अघि बढिने कृषक योहनले वताएका छन्  ।

स्याउ खेती शुरु गरिएको गाउँ मचेत धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ ।सदरमुकाम धादिङबेसीबाट साङकोष,कटुन्जे,चरङ्गे,किन्ताङफेदी, दार्खा, झार्लाङ, बोराङ हुंदै तिप्लिङ नजिकै सडक सञ्जाल जोडिएको छ ।

रुवीभ्यालीको तिप्लिङ आलु, भेंडा र चौरीको उत्पादनका लागि प्रख्याती कमाएको ठाउँ हो । अहिले पनि यहाँ गाँउका सवैको वारीमा मुख्य वालीका रुपमा आलु खेती हुने गरेको छ ।