आज इन्द्रजात्रा पर्व मनाइँदै

184 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । इन्द्र जात्रालाई काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्वका रुपमा मानिन्छ ।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो  ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, बाहेक धुलिखेल, दोलखा पालुङ लगायतका स्थानमा पनि मनाइन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।
इन्द्रध्वजाको लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच,  लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ ।