आज महाअष्टमी मनाइँदै,बडादशैंको आठौं दिन दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलि चढाइँदै

160 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं , कार्तिक ५– बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ।

दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ।

काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ।

यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ।

दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ। किसानले फलामे औजारको पूजा गर्छन्। यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन्।

पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन्।

कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ। हनुमानढोकास्थित दशैंघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुन्छ। त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ।

आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ।

प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ बिथोल्ने उद्देश्यले भद्रकाली करोडौं योनी-शक्तिका साथ आजकै दिन प्रकट भएको विश्वास छ। १६ वटा पूजा सामग्रीका साथ भद्रकालीको पूजाआराधना गर्छन्, भक्तजनले।

शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत नवदुर्गाका स्वरुपहरुको पूजा गर्ने गरिन्छ।

पूजा सकिएपछि बोका, कुखुरा, हाँस, खसी, राँगो आदिको बलि दिइन्छ। महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मान्ने गरिएको छ।