आजदेखि यमपञ्चक (तिहार)सुरू,पहिलो दिन कागको पूजा गरिंदै

230 पटक पढिएको

सम्पादक: Dhading News

 

धादिङ न्यूज

शनिबार, कात्तिक २५, २०८०

धादिङ–हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार अर्थात यमपञ्चक आज बाट सुरु भएको छ। हरेक बर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने चलन रहेको छ ।

यमपञ्चकको पहिलो दिन अर्थात कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर काग तिहार मनाइन्छ । कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ। काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो भन्ने जनविश्वास रहि आएको छ । तिहारको पहिलो दिन घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का……का…..का…………भन्दै बोलाएर खान दिने गरिन्छ ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहि आएको छ ।