त्रिपुरासुन्दरी माईको जात्रा मंसिर २७ र २८ गते लाग्ने

59 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

शनिवार २ मंसिर २०८० ।

धादिङ- धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोट र सल्यानवेशसीमा रहेको त्रिपुरासुन्दरी माईको मन्दिरमा हरेक बर्ष लाग्ने माई स्थानको जात्रा यो बर्ष मंसिर २७ र २८ गते लाग्ने भएको छ । यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । जात्रा हरेक बर्षको मङ्सिर महिनामा पण्डितहरुले जुराएको उत्तम तिथि पारेर लाग्ने गर्दछ ।जात्राको मिति तिहारको भाइटिकाको दिन सार्वजनिक गर्ने चलन छ ।

त्रिपुरासुन्दरीको सल्यानकोट र सल्यानवेसीगरेर दुइ ओटा मन्दिर रहेको छ । मंसिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ सल्यानकोट माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ माईथानबेसीको मन्दिरमा ल्याएर विधिपूर्वक पूजापाठ गरी जात्रा समापन गर्ने चलन रहेको छ ।यो बर्षको जात्रा मंसिर २७ गते राती सल्यानकोटमा र २८ गते सल्यानवेशीमा लाग्ने वताईएको छ ।

रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर सर्बसाधारणले देख्न पाउँदैनन । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले उक्त मुर्ति हेर्न र छुन नपाउने अनौठो प्रचलन यस मन्दिरमा रहिआएको छ ।

मुर्ति छुन र हेर्न नपाएपनि यस मन्दिरमा सबै जातजातिका भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।यस जात्रालाई अहिले धार्मिक आस्थाका साथ पर्यटकीय दृष्टिले पनि हेर्न थालिएको छ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ । जस्का कारण शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेका छन् ।

सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि धादिङ जिल्लाका साथै छिमेकी जिल्ला नुवाकोट, चितवन, गोरखा काठमाडौँ लगायतका जिल्लाबाट समेत भक्तजनहरु आउने गर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *