बेहुली जस्तै सिँगारियो अम्लेश्वर महादेव मन्दिर (तस्बिरहरु सहित )

258 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

६ मंसिर बुधवार २०८०

महेशदोभान,(धादिङ)– धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा रहेको अम्लेश्वर महादेव मन्दिरमा लाग्ने एकादशी मेलाको अवसरमा मन्दिर बेहुली जस्तै सिँगारिएको छ ।

अम्लेश्वर महादेव मन्दिर परिसरको रौनक यतिबेला निकै रमाईलो छ । मन्दिरलाई चिटिक्क सिँगारिएको छ ।

नयाँ रंगरोगन, थरीथरीका फूल, बोट बिरुवाहरू, विभिन्न पूर्वाधारले मन्दिरमा पुग्ने सबैलाई लोभ्याउन थालेको छ । साँझको समयमा बल्ने झिलिमिली बत्तिले मन्दिरको सौन्दर्यता नै बढाइदिएको छ ।

केही बर्ष अघि सम्म एकातिर त्रिशूली नदीको निरन्तर कटानको जोखिम र अर्को तर्फ बढ्दै गएको अतिक्रमणले  संकटमा पुगिसकेको मन्दिर परिसरमा यति सुन्दर पार्क तयार होला भन्ने धेरैले कल्पना पनि गरेका थिएनन । अम्लेश्वर महादेवस्थान संरक्षण तथा पर्यटन विकास समितिको अग्रसरतामा जुझारू केही व्यक्तिहरूको प्रयासले यो ठाउँको मुहार फेरिएको हो । केही वर्षभित्रमा यो ठाउँको स्वरूपमा ब्यापक परिवर्तन आएको हो ।

ठूलो एकादशीका नामले चिनिने हरिवोधिनी एकादशीको अवसरमा अम्लेश्वर महादेव मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्षेनी हजारौं दर्शनार्थीको भीड लाग्ने गर्दछ । यो बर्ष मंसिर ६ गते बुधबार राती देखि र ७ गते बिहीवार दिउँसो सम्म मन्दिरमा मेला लाग्दैछ । मेलालाई सभ्य र व्यवस्थित बनाउन अम्लेश्वर महादेवस्थान संरक्षण तथा पर्यटन विकास समितिले सरोकारवाला निकायहरु संग समन्वय र सहकार्य गरी तयारी पुरा गरेको जनाएको छ ।

पौराणिक परम्परा अनुसार परिवार तथा आफन्तहरुको मृत्यु भएकाहरुले मृतकको सम्झनामा हरेक बर्षको हरिवोधिनी एकादशीको अघिल्लो राती यस मन्दिरमा रातभरी जाग्राम वसी वत्ती वाल्ने चलन रहेको छ । यसरी बत्ती वाल्दा मृतात्माले शान्ति पाउने विश्वास रहि आएको छ । भगवान् विष्णुलाई पुज्ने दिनका रुपमा रहेको हरिबोधिनी एकादशीका दिन अम्लेश्वर महादेवको मन्दिरमा २ सय ५० वर्ष भन्दा अघिदेखिनै मेला लाग्दै आएको छ ।

धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको अम्लेश्वर महादेव मन्दिर क्षेत्रमा हरिवेधिनी एकाशीको मेलाले रौनकता भरिएको छ । पवित्र र्थिस्थल गोसाईकुण्डवाट बगेर आएको त्रिशूली नदीको किनारमा रहेका कारण अम्लेश्वर महादेव मन्दिर क्षेत्रलाई पबित्र स्थलका रुपमा लिने गरिन्छ । हरिबोधिनी एकादशीको दिन पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा बिरामी नहुने धार्मिक विश्वास समेत रहेको छ । मन्दिरमा पुजाआजा पछि कतिपय भक्तजनले भाकल अनुसारको फुलको डोली समेत चढाउने गर्दछन ।


मेलाको सम्पूर्ण तयारी पुरा भएको, मेला अवधिको लागि शान्ति सुरक्षा, स्वास्थ्य तथा सरसफाई, लगायतको व्यवस्थापन समेत भएको मन्दिर समितिले मंगलबार प्रेस नोट जारी गर्दै जानकारी दिएको छ ।यसै गरी गल्छी वडा नम्बर ६ का वडाअध्यक्ष दिपककुमार कार्कीले पनि मन्दिरमा लाग्ने मेलाको तयारी पुरा भईसकेको जनाएका छन् ।

मन्दिर परिसरमा तयार पारिएका विभिन्न पुर्वाधारले यस क्षेत्रको आकर्षण थपेको छ । पुष्पउद्यान, शिव लिङ्ग, कैलाश पर्वत, शिवको थप आकर्षक मुर्ति, प्रतिक्षालय,मनोरन्जन स्थल,व्यायाम स्थल, सेल्फी स्ट्याण्ड लगायतका पूर्वाधारले मन्दिरलाई निकै आकर्षण थपेको छ ।