एमाले धादिङको भावी नेत्तृत्व र चुनौतीहरु
2731 पटक पढिएको
केशव अधिकारी
नेकपा (एमाले) धादिङको नवौं अधिवेशन यति बेला सदरमुकाम धादिङबेसीमा सञ्चालन भईरहेको छ । उद्घाटन सत्र सकिएपछि पार्टीको जिल्ला कार्यालयमा बसेको जिल्ला कमिटीको अन्तिम बैठक हुंदै वन्द सत्र शुरु भएपछि घटेका केही नमीठा घटनाले एमालेका कार्यकर्ता र शुभचिन्तकलाई निकै दुखित बनायो ।
गत माघ १९ गते औपचारिक उद्घाटन सत्र सकेर बन्दसत्र सुरुवात हुनै लाग्दा चर्को आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र फागु्न १ बाट पुनः संचालनमा आएको छ ।
विवादित विषयहरु समाधान भएपछि बन्दसत्र सुचारु गरिएको दावी गरिएको छ । बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विवादित बनेका विषयमा लामो रस्साकस्सी, छलफल र केन्द्रिय दवावमा दुुबैपक्षबीच सहमति जुटेपछि बन्दसत्र सुरु भएको हो । ५ सय ७८ जना प्रतिनिधि रहेको नेकपा एमाले धादिङको बन्द सत्रले आगामी ३ बर्षका लागि लागि १ सय १२ सदस्यिय समावेशी नयाँ नेतृत्व चयन गर्ने छ ।
विचार, संगठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै अधिवेशनको प्रमुख जिम्मेवारी हुनुपर्नेमा मसल प्रदर्शन र आन्तरिक रुपमा एकले अर्कोलाई दुर्गन्धित हिलो छ्याप्ने काम यस जिल्ला अधिबेशनको मैदानमा हुन पुग्यो । नयाँ जोश जाँगर र संकल्प सहित नयाँ नेतृत्व चयन गर्नुपर्ने अधिबेशनको वन्द सत्र शुरु भएको केही बेरमा रोकिएर १० दिन पछि पुन अघि बढेको छ ।विगतमा जस्तै यस पटक पनि अधिबेशनमा पार्टी संगठनको जिम्मेवारीमा रहेर काम गरिरहेकाहरुलाई समेट्ने भन्दा आफ्नो यस म्यानलाई प्रतिनिधि चयनमा प्राथमिकता दिंदा विवाद बढ्न पुग्यो । कति प्रतिनिधि रातारात फेरिए यिनै कमजोरीले नेत्तृत्वमा अविश्वास बढ्न पुग्यो ।विवाद निस्कनुमा पार्टीको एउटा पक्षमात्रै दोषि देखिंदैन । निति बिचार र केन्द्रिय नेत्तृत्वमा कुनै विवाद नभएको धादिङ एमालेको नेत्तृत्वमा आन्तरिक अविश्वासले जरो गाडेको छ । कुनै विपक्षी संगठन संग मुकाविला गरे जस्तो आन्तरिक जिवनको अन्तर संघर्ष दुनियाँका सामु छताछुल्ल हुन पुगेको छ । बिशेष गरी सामाजिक सन्जालमा एमालेका सबै तहका नेता कार्यकर्ता एकले अर्कोलाई खुईल्याउन मरिमेटेर लागेका छन् । जस्ले गर्दा आन्तरिक संगठन कमजोर र विपक्षीहरुमा खुसी प्रवाह गरिरहेको छ । भोलीका दिनमा एउटै संगठन भित्र बसेर काम गर्नुपर्नेहरु अहिले युद्धमा होमिएका फौजीको जस्तो व्यवहार देखाईरहेका छन् यो सरासर गलत कार्य हो यस्ले पार्टीलाई कमजोर र कार्यकर्तालाई निकम्मा वनाउने निश्चित छ ।
विगतका अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ र अझ सशक्त बनाउन सकिन्छ भनेर अधिवेशनबाट पार्टीको आन्तरिक जिवनलाई लोकतान्त्रीकरण वनाउनु पर्नेमा नेताहरु एक आपसमा सिगौंरी खेल्दा कार्यकर्ताहरु भने निराश हुन पुगेका छन् । आज धादिङमा एमाले कहाँ छ? अबको दिनमा कहाँ सम्म लैजाने भन्ने तर्फ नेताहरुको ध्यान पुग्नु पर्नेमा नेत्तृत्व कसरी आफ्नो अनुकुल वनाउने भन्ने विवादले एमाले धादिङमा कलह बढाएको छ । अधिबेशनको हल भित्र बसेर नेता कार्यकर्ताले एमालेको जिल्ला भित्रको समस्याको मसिनो गरी पहिचान गर्नुपर्नेमा भविष्यमा कतै भेटै नहुने जस्तो गरेर एउटै कमिटी र संगठन भित्र बसेका नेताकार्यकर्ताको घिन लाग्दो जुधाईले तल्लो तहमा निराशा बढाएको छ । सदस्य संख्या र मतदाताको हिसाव गर्दा समग्रमा आज पनि एमाले धादिङ जिल्लाकै सबै भन्दा ठूलो दल हो । गत स्थानीय तह र संसदिय निर्वाचनमा बलियो विपक्षी गठवन्धनसंग एक्लै भिडेको एमाले धादिङले आफ्नो मतलाई जोगाएको थियो । एमालेभित्रको समस्या समयमै समाधान हुन नसक्दा केही स्थानमा पराजित हुन पुगेको तितो यथार्थ छ ।२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको धुनिबेसी,थांक्रे, गल्छी,गजुरी, सिद्धलेक र गंगाजमुनामा प्रमुख उप प्रमुख दुवै पद, त्रिपुरासुन्दरी र नेत्रावतीमा अध्यक्ष र ज्वालामुखीमा उपाध्यक्ष जितेको एमाले २०७९ मा आईपुग्दा थांक्रे र गल्छीमा अध्यक्ष मात्रै जित्न सफल भएको छ । यसै गरी अघिल्लो संसदीय निर्वाचनमा जिल्लाको दुई वटै संघीय निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएकोमा यो पटक जिल्लानै शुुन्य हुन पुग्यो । गठवन्धनसंग भिड्नु एमाले एक्लैको लागि जति चुनौती थियो, पाटी भित्रको आन्तरिक कलह पनि उत्तिकै चुनौती देखिएको थियो । स्थानीय निर्वाचनमा आन्तरिक सम्वन्यमा चुकेको एमाले संसदीय निर्वाचनमा झनै भद्रगोल हुन पुगेको थियो ।
नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ नेता कार्यकर्तामा स्वार्थ र आकांक्षा बढेका छन्। पार्टीभित्र अवसरवाद ,कृपावाद र यस्तै अनेक विकृति पनि मौलाएका छन्। हो, यही धरातलीय यथार्थतामा उभिएर पार्टी भित्रको समस्या समाधान र अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी बोकेको जिल्ला अधिबेशन शक्ति केन्द्रको कठपुतली बन्न गएकाले नेतृत्व चयन सर्वसम्मत हुन सकिरहेको छैन । एमालेमा यसपटक पनि ठाडो प्यानलबाजी देखिएको छ । यसले गर्दा नेता कार्यकर्ता दुई पक्षमा विभाजित मात्रै भएका छैनन् उनीहरुका मन पनि फाटेको छ । एमालेले जिल्ला अधिवेशनबाट कार्यकर्ताको मन फाट्न होइन मिलाउन सक्नुपथ्र्यो,धाँजा सम्याउन पर्नेमा झन गहिरो खाड्ल खन्ने काम शुरु भएको छ । अबको नेतृत्वका लागि यो निकै ठूलो चुनौती हो ।
हरेक अधिवेशनको एउटा मुख्य मुद्दा भनेको नेतृत्व हस्तान्तरण हुने गर्दछ । आमरूपमा अधिबेशनले नयाँ व्यक्तिलाई नेतृत्वमा पुग्न मद्दत गर्नु पर्दछ । विवाद र आन्तरिक कलहका कारण रोकिन पुगेको वन्द सत्र ढिलै गरि शुरु भएपनि यसपटक नेतृत्व चयन वा हस्तान्तरणको प्रक्रिया आरम्भ भएको छ । अधिवेशनले पार्टीको प्रमुख नेतृत्वमा समेत कस्लाई पु¥याउँछ सबैको चासोको बिषय बनेको छ ।
एमाले धादिङको अबको नेत्तृत्वले गुटबन्दीलाई संस्थागत गर्न होइन सदाका लागि रोक्न सार्वजनिक प्रतिज्ञा गर्नु पर्दछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अबस्था अन्त्य हुनुपर्दछ ।
नेताहरुको अभिव्यक्ति, हाउभाउ, शालिनतापूर्ण हुनुपर्दछ । आम कार्यकर्ताको अपेक्षा यहि नै हो । कुनै पनि नेतामा दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो संकेत होइन। एमालेको अबको नेत्तृत्वले पार्टी भित्रका सबैलाई समेट्न सक्ने, फराकिलो हृदय देखाउन सक्ने हिक्मत बनाउनु पर्दछ । गुटवन्दी र आन्तरिक कलहले पार्टी सही गतिमा अघि बढ्न सक्दैन भन्ने कुरालाई नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ ।
अबको नयाँ नेत्तृत्वले आगामी दिनमा पार्टी कसरी अघि बढाउँछ त्यस्को परिणाम अब आउने चुनावले स्पष्ट पार्नेछ । जिल्ला अधिबेशनको धङधङी वन्द सत्रको हल भित्र त्यागेर सबैलाई समेटेर अघि बढ्ने, पार्टीलाई एकताबद्ध बनाउने कुरा नेत्तृत्वले गर्नु पर्दछ ।एमालेमा सच्चिनु पर्नेमा नेताहरु मात्रै होइन कार्यकर्ता पनि हो । गुटको पछि लागेर कसैलाई नेताहरुलाई देवत्वकरण गर्ने र कसैलाई विभिन्न आरोप लगाएर मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाड्नुपर्दछ ।
सीमित व्यक्तिमा रमाउँदा सिंगो पार्टी सक्किन सक्छ भन्ने कुराको हेक्का अबको नेत्तृत्वले राख्नुपर्दछ । यथार्थमा कुनै पनि पार्टीको लागि प्राणघातक रोग भनेको गुटबन्दी र समूहवाद नै हो। पार्टी एक ढिक्का भएर अघि बढ्न सक्नुपर्दछ । अधिबेशनको बेला छताछुल्ल भएको गुटवन्दीको धङधङी आगामी दिनमा देखिनु हुँदैन । यो यथार्थतालाई नेतृत्वले आत्मसात गरेर दुई पक्षलाई व्यवस्थापन गरेर जानु पर्दछ । भोलि एमाले धादिङ कसरी अघि बढ्छ भन्ने कुराको निर्धारण अबको नेत्तृत्वले देखाउने कार्यशैलीबाट देखिन्छ । एमालेलाई जिल्लामा बलियो र एकताबद्ध बनाउने हो भने नेताहरुले गुटवन्दीको इगो त्यागेर फराकिलो ढङ्गले जान जरुरी छ। त्यसरी जान नसक्दा एमालेको भविष्य अन्धकार तर्फ लम्किने निश्चित छ । जिम्मेवारी दिंंदा हाम्रा मान्छे होइन राम्रा मान्छेलाई छानिनु पर्छ । कामकाजी, सक्षम, सक्रिय व्यक्तिलाई कार्यविभाजन दिएर सबैको भावना समेट्दै एकता, हार्दिकता र सहकार्यका साथ अघि बढ्नु पर्दछ । यसैमा नै एमालेको शक्ति, ऊर्जा र प्रेरणा हुनेछ।
नेताहरुले कुनै दम्भ नदेखाएर सबैलाई सम्मान एवं सहयोग गर्ने वातावरण बनाई कसैलाई हीनताबोध नहुने गरी एकताबद्धरूपमा अघि बढ्न सकेमा मात्रै एमालेलाई भोलि जिल्लाको पहिलो शक्ति बनाउन सम्भव छ । सुदृढ र एकताबद्ध एमालेको अबको आवश्यकता हो ।
(अधिकारी प्रेस चौतारी नेपालको पूर्व केन्द्रिय सदस्य हुनुहुन्छ ।)