धादिङको मलेखु रातमाटेबाट आरुवासटार जोड्ने पक्की पुल सात बर्ष सम्म अधुरै
88 पटक पढिएको

केशव अधिकारी
धादिङ,३ चैत २०८१ । धादिङ जिल्लाको वेनिघाटरोराङ गाउँपालिकाको रातमाटेबाट सिद्धलेक गाउँपालिकाको आरुवासटार जोड्ने गरी २०७५ सालमा निर्माण सम्झौता भएको त्रिशूली नदी माथिको पक्की पुल ७ बर्ष सम्म पनि अधुरै रहेको छ ।
सम्झौताअनुसार पुल निर्माण २०७७ को जेठमै सम्पन्न भइ सञ्चालनमा आइसक्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीले पुल निर्माण हुन नसकेको हो । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७५ पुस देखि निर्माण थालिएको उक्त पुल सात वर्ष बितिसक्दा पनि अधुरै रहेको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नं ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेसनल जेभीले लिएको थियो। समयमा नै काम नगरिदिँदा पुल निर्माणको काम अलपत्र बनेको छ। कुल १४ करोड लागतमा निर्माणको जिम्मा लिएको यो पुलको लम्वाई १ सय ४० मिटर लामो रहनेछ । २०७५ साल जेठ २८ गतेसम्झौता भएको यो पुलको २०७५ पुस ३० गते धादिङ क्षेत्र नम्बर १ का तत्कालिन सांसद भूमी प्रसाद त्रिपाठीले शिलान्यास गर्नु भएको थियो । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०७७ जेठ २७ गते रहेको भएपनि अहिले सम्म पुल निर्माणको काम अधुरै रहेको सिद्धलेक गाउँपालिका वडा नम्बर–४ का पूर्व अध्यक्ष रामहरि बराकोटी बताउनुहुन्छ ।
नेपाल सरकार पुल आयोजना सेक्टर नम्बर २ ललितपुरले ठेकेदार मार्फत निर्माण अघि बढाएको यो पुलको मलेखु रातमाटे तर्फ पिल्लर निर्माण भईसकेको छ भने आरुवासटार तर्फ पिल्लरको जग हाल्ने काम मात्रै भएको छ । बिचमा एउटा रिङ जग हाले पनि अन्य काम हुन सक्दा निर्माणाधिन पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा यहाँका स्थानीयले बर्षौ देखि झोलुङ्गे पुलबाट लामो बाटो घुमेर आवातजावत गर्दै आईरहेका छन् ।
ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदा पनि काम पूरा नभएपछि स्थानीयले पटक पटक भेटेर ठेकेदारको ध्यानकर्षण गराउँदा पनि ठेकेदारले निर्माण कार्यमा वेवास्ता गर्दै आएको पूर्व वडा अध्यक्ष बराकोटीले वताउनु भयो ।
ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन् । पुल बनाउने जिम्मा लिने ठेकेदारहरुमा महाविरका अनिल गुप्ता, नीलगिरीका युवराज डाँगी र नेशनलका इन्द्र गिरी रहेका छन् ।
राजधानी काठमाडौँ आवातजावत गर्ने मुख्य सडक पृथ्वीराजमार्गको छेवैमा निर्माण सुरु गरिएको पुलको कामले भने गति लिन नसकेको भएपनि सरकारी निकायको खासै ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । गाउँमा उत्पादित खाद्यन्न तथा तरकारी बजारसम्म ल्याउन स्थानीयले निकै समस्या भोग्दै आइरहेका छन् सरकारले काममा लापरवाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न नस्कदा पु्ल निर्माणको काम अधुरो हुन पुगेको हो ।
वर्षौँदेखि पुल निर्माण अधुरै छाडेका ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन् । समयमा पुल नबन्दा स्थानीय उत्पादनहरू बजार पठाउन कृषकलाई सास्ती खेप्नुपर्ने अवस्था छ । पुल नबनेकै कारण पृथ्वीराजमार्गपारिको गाउँ दुर्गम जस्तै बनेको छ ।
निर्माण सुरु भएको ७ बर्ष भईसक्दा पनि पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष झक बहादुर थापा मगर बताउनुहुन्छ । स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटक पटक अटेर गरेकाले यस्तो समस्या भएको वडाअध्यक्ष मगरको भनाइ छ ।