सिर्जनाद्धारा सिर्जित ‘बोध अन्तर्बोध’ (कविता सङ्ग्रह) र गुलावी मन (गजल अडियो) सार्वजनिक

245 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ फागुन २०८०। साहित्यकार सिर्जना अधिकारी अर्यालको दुई वटा कृति शनिवार धादिङको सिद्धलेक गाउँपालिकाको कार्यालय बुङ्चुङमा आयोजित कार्यक्रममा एकै साथ सार्वजनिक गरिएको छ ।

धादिङमा कृयाशिल साहित्यिक संस्था धादिङ सिर्जना प्रतिष्ठानद्वारा आयोजित ‘साहित्य र संस्कृतिमा सिद्धलेक’ विषयक अन्तक्र्रिया कार्यक्रममा अर्यालद्वारा लिखित ’बोध अन्तर्बोध’ (कविता सङ्ग्रह) र गुलावी मन (गजल अडियो) सार्वजनिक गरिएको हो । कार्यक्रममा राजधानी काठमाडौं, धादिङ , चितवन र अन्य ठाउँबाट समेतगरी १०० जनाभन्दा बढी साहित्यकार सर्जक तथा साहित्यप्रेमीहरुको जमघाट भएको थियो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सर्जक सृजनाकी  बुबा शालिकराम अर्यालका साथै साहित्यिक क्षेत्रका अग्रज व्यक्तित्व प्राज्ञ नरनाथ लुइँटेल, डा नवराज लम्साल, डा. रामहरि लम्साल, प्रा. डा. बालमुकुन्द रेग्मी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहाल,  राममणि दुवाडी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कवि सिर्जनाका पिता तथा साहित्यकार शालिग्राम अर्यालले साहित्य र संस्कृतिमा सिद्धलेकको योगदानबारे आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रममा शिरिषा नेपालले शुभेच्छा तथा कृतिको कविता वाचन गर्नुभएको थियो भने साहित्यकार बद्रीप्रसाद दाहाल तथा दामोदर नलाङीले शुभकामना मन्तव्य सहित कविता वाचन गर्नुभएको थियो ।

यसै गरी मदन पुरस्कार विजेता डा. नवराज लम्साल,भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीनबन्धु पहाडी,डोटीका साहित्यकार गिरिराज जोशी,समाजसेवी जगन्नाथ तिम्सिना, भूमि आयोग धादिङका अध्यक्ष कृष्णप्रसाद अर्याल,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पनि कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएको थियो ।

धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता कवि सृजनाकी आमा लक्ष्मी अर्यालले गर्नुभएको थियो ।