नयाँ सत्ता गठबन्धनका मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ- सत्ता समिकरण वदलिएसंगै संघीय सरकारको मन्त्री मण्डल पनि बदलिएको छ । नयाँ सत्ता गठबन्धनका मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्गठन गरेको मन्त्रिपरिषद्‌मा दोस्रो वरीयतामा नेकपा एमालेका सचिवसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ रहेका छन्। उनीपछिको वरीयतामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शपथ लिएका छन्। श्रेष्ठ यसअघिको गठबन्धन सरकारमा गृहमन्त्री थिए। अहिले भने उनलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले शपथ लिएका छन्। लामिछाने यसअघि पनि गृहमन्त्री भइसकेका व्यक्ति हुन्। यीसँगै १९ जनाले बुधबार  शपथ लिएका छन्।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन्। समाजवादी पार्टी पनि सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको यो सरकारले बहुमत पाएको छ। उता नेपाली कांग्रेस पनि दाहालले धोका दिएर एमालेसहितको गठबन्धनको सरकार बनाएको भन्दै नयाँ गठबन्धनको कसरतमा लागेको छ।

नयाँ गठबन्धनकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दलका केही शीर्ष नेतासहित मधेश केन्द्रित दलका नेतृत्वसँग आफ्नै निवासमा बूढानीलकण्ठमा छलफल गरेका छन्।

मन्त्रीहरूको सूची

एमालेबाट मन्त्री भएकाहरू

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)बाट मन्त्री भएकाहरू

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थ मन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरू

१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल (डीपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरू

१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२. धनबहादुर बुढा, सहरी विकास मन्त्री