राष्ट्रिय नाचघरमा “साङ्गीतिक गजल गुञ्जन” हुँदै

131 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते ‘साझ्गीतिक गजल गुञ्जन’ गर्ने भएको छ । राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा नौ वटा गजलहरू स्थापित र नवपुस्ताका गायक/गायिकाले प्रस्तुत गर्ने छन् ।

प्रतिष्ठानले जनाएअनुसार, कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुर्‍याउने छ । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले भने, ‘नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ । गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर वास्तविक गजलको लेखन र गायनमा कमी देखिन्छ । यसलाई पूरा गर्ने हाम्रो प्रयास हो ।’

नेपाली गजललाई शास्त्रीय धारमा परिष्कृत गर्न प्रतिष्ठानले बहस, छलफल र पाठशालाहरू चलाइरहेको उनको भनाइ छ ।

प्रतिष्ठानले हरेक २ महिनामा ‘गजल मुशायरा’ पनि गर्दै आएको छ । काठमाडौंमा ३ वटा मुशायरा सम्पन्न गरिसकेको छ भने झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरेको प्रतिष्ठानका सचिव अनजान यात्रीले जानकारी दिए । यसअघि  गत वर्षको मोती जयन्तीका अवसरमा पनि प्रतिष्ठानले यस्तै गजल गुञ्जन कार्यक्रम गरेको थियो ।

यात्रीले भने, ‘गजललाई जबसम्म गायनमा ल्याउन सकिँदैन, यसले आमजनमा अस्तित्व देखाउन नसक्ने रहेछ । नेपाली गजललाई अब तीव्र रूपमा गायनमा ल्याउन आवश्यक छ ।’

कार्यक्रममा प्रवेश खुला गरिएको जनाइएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार, सोही अवसरमा नेपाली गजल उन्नयननमा लामो सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई ‘के लत बस्यो मलाई’ पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम छ ।

पुरस्कार राशि क्रमश: ३५ हजार र १५ हजार रुपैयाँ छ । (स्रोत:शिलापत्र डट कम)