किन्ताङ र झार्लाङको पहिरोमा पुल निर्माण अन्तिम चरणमा धादिङवेसी–सांकोष–तिप्लिङ सडक, ल्याउँदैछ उत्तरी धादिङमा परिवर्तन
332 पटक पढिएको

- केशव अधिकारी
धादिङ,२८ चैत । धादिङवेसी–सांकोष–तिप्लिङ सडक खण्ड अन्र्तगत किन्ताङ खोलामा बेलिब्रिजको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनाको प्राबिधिक सहयोग र नेपाल विद्युत प्राधिकरणको भौतिक सहयोगमा धादिङको खनियावास र नेत्रावती डवजोङ गाउँपालिकाको आर्थिक सहयोगमा किन्ताङखोलामा ६० मिटर लम्बाइको बेलिब्रिज निर्माण भएको हो ।
यसै गरी खनियावास गाउँपालिकाको झार्लाङको लिङ लिङ क्याप अर्थात झार्लाङको पहिरोमा पनि पुल निर्माण कार्य भईरहेको छ । दुवै पुल निर्माण सम्पन्न भएपछि धादिङ जिल्लाको रुवीभ्याली, खनियावास र गंगाजमुना गाउँपालिकाका गाउँबस्ती सम्म सदरमुकाम धादिङबेसीबाट बाह्रै महिना मोटर सञ्चालनमा आउने छ ।
सदरमुकाम धादिङबेसीबाट जिल्लाको उत्तरी भेगको खनियावास, रुवीभ्याली र गंगाजमुना गाउँपालिकाको दुर दराजका गाउँबस्ती जोड्ने धादिङवेसी–सांकोष–तिप्लिङ सडक निर्माण शुरु भएको ३० बर्ष हुंदा पनि सडक निर्माण कार्य अझै सकिएकोे छैन । २०५० सालबाट धादिङवेसी–सांकोष–तिप्लिङ सडकको औपचारिक निर्माण शुरु गरिएको हो ।
सरकारी अभिलेखमा दामन पाख्रिन मार्ग भनिए पनि बोलिचालीको भाषामा धादिङवेसी–सांकोष–तिप्लिङ सडक भनेर चिनिने यस सडक खण्डको डुण्डुरेखोलामा दुई बर्ष अघिनै पक्की पुलको निर्माण भईसकेको छ । अहिले किन्ताङ खोलामा बेलिब्रिज को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको प्राबिधिक सहयोग र नेपाल विद्युत प्राधिकरणको भौतिक सहयोगमा धादिङको खनियावास र नेत्रावती डवजोङ गाउँपालिकाको आर्थिक सहयोगमा ६० मिटर लम्बाइको बेलिब्रज निर्माण गरिएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले वताउनु भयो ।
सदरमुकाम धादिङबेसीबाट १०७ किलोमिटर दुरीको यो सडक अन्तर्गत धादिङवेसी–सांकोष–टोड्के सडक खण्डको करिब १६.२ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भईरहेको छ । कालोपत्रेका लागि रौतहा–सगुन(जेभि) कन्सट्रक्सन प्रा.लि. ले २०७८ असोज १९ गते २ वर्षको समयवधिमा (२०८० असोज १८ सम्म) सक्नेगरि रू. ४० करोड ७६ लाख ३१ हजार ९ सय ५१ रूपैयामा निर्माणकार्यको सम्झौता गरि निर्माण शुरु गरेको थियो । पूर्र्व निर्धारित समयमा निर्माण कार्य सम्पन्न नभएपछि मिति २०८१ जेठ ३२ गते सम्मको समयवधि पुनःथप गरि काम भईरहेको पूर्वाधार विकास कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार यस आयोजनाको हालसम्मको प्रगति विवरण भने भौतिक प्रगति ५०% र आर्थिक प्रगति ४०% मात्र रहेको छ । थप गरिएको समयवधि भित्र पनि सडक कालोपत्रे भैसक्ने सम्भावना भने अत्यन्त न्यून रहेको छ ।
किन्ताङखोलामा निर्माण भईरहेको पुलको बारेमा जानकारी लिन धादिङ क्षेत्र नम्बर २ का सांसद रामनाथ अधिकारीले केही दिन अघि स्थलगत अवलोकन गर्नु भएको थियो । स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक सहितको टोली सांसद अधिकारी संगै अनुगमनमा गएको थियो ।
यसै बिच निर्माणाधिन सडक खण्ड छिटो भन्दा छिटो सम्पन्न गर्न आवश्यक वजेटको लागि धादिङ २ का पूर्व सांसद खेम लोहनीको नेत्तृत्वमा रुबीभ्याली गाउँ पालिका अध्यक्ष राम सिंह तामाङ, पूर्व वडाध्यक्ष पेम्बा घले, लरेन्स तामाङ, एमालेका नेता प्रेम तामाङ सहितको टोलीले पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेका छन् । अध्यक्ष ओलीले आवश्यक वजेट विनियोजनका लागि भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठलाई सिफारिस गरिदिएको टोलीले जनाएको छ ।
धादिङको उत्तरीभेगको सबैभन्दा विकटको बस्ती रुविभ्याली गाउँपालिकाको १ र २ मा पर्ने तिप्लिङमा मोटर बाटो जोडिएपनि ठाउँ ठाउँमा पुल नहुंदा हिउँदमा मात्रै मोटर चल्ने गरेको छ ।
समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वार सम्म सडक सुविधा पुगेको भएपनि किन्ताङखोला र झार्लाङको पहिरोमा पुल नहुंदा बर्षा लागेपछि मोटर चल्न नस्कने अबस्था रहेको छ ।
हिउँदका बेला धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियाबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेंसी पुग्न सकिन्छ ।
मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिंडेर सदरमुकाम सम्म आउनुपर्ने बाध्यता रहेको थियो ।