विद्यार्थी अभाव झेल्दै आएका गल्छीका दुई क्याम्पस भए एकीकरण

398 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ : धादिङको गल्छी गाउँपालिकामा संचालनमा रहेको ३ वटा मध्ये दुई  क्याम्पस गाभिएका छन् । गल्छी गाउँपालिकाको वडा नम्बर ४ मासटारमा रहेको धादिङ बहुमुखी क्याम्पस र गल्छी –६ बैरेनीवजारमा निजी क्षेत्रबाट संचालित सफल कलेज ‘मर्ज’ भएको हो। मर्ज पछि जेठ १ गते देखि एकीकृत कक्षा सञ्चालनमा आएको क्याम्पसले जनाएको छ ।

धादिङ बहुमुखी क्याम्पस र सफल कलेजका सञ्चालक समितिहरूले दुवै क्याम्पसलाई एकीकरण गरी एक सबल, परिष्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी ‘मर्ज’ मा जाने निर्णय गरेको गल्छी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजु अधिकारीले वताउनु भयो ।

तत्कालीन अवस्था र मागको औचित्यको आधारमा स्थापना भएको क्याम्पसहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको  योगदान प्रशंसनीय  रहे पनि हालको विश्वव्यापीकरण, बसाइसराइ, नयाँ पुस्ताहरूमा देखिएको महत्त्वाकाङ्क्षा, घट्दो जनसंख्या र आर्थिक सङ्कट जस्ता कारणले क्याम्पसहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने क्रम रहेको र अर्को तर्फ क्याम्पसहरूको प्रशासनिक र सञ्चालन खर्च बढ्दो क्रममा रहेकाले मर्जमा जानु परेको वडा अध्यक्ष अधिकारीको भनाई छ ।

लामो समय देखि  सुरु गरेको अध्ययन र सहकार्यहरूबाट तयार भएको एकीकरण दस्ताबेजको आधारमा दुवै क्याम्पसका सञ्चालक समितिको बैठकले  एकीकरण गर्ने निर्णय गरेकोहो।

गल्छीमा एक सबल क्याम्पस बनाउने यो अभियानमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, दुवै क्याम्पसका संस्थापक, चन्दादाता, साधारण सभाका सदस्य, सञ्चालक  समितिका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्य, पूर्व प्राध्यापक/कर्मचारी तथा कार्यरत प्राध्यापक/कर्मचारी, पूर्व तथा वर्तमान विद्यार्थी, सामाजिक अभियन्ता, उद्योगी व्यवसायी, शुभचिन्तक तथा शिक्षा पदाधिकारी र शिक्षाविदहरुको विशेष सद्भाव र सहयोगको अपेक्षा गरिएको धादिङ बहुमुखी क्याम्पस संचालक  समितिका अध्यक्ष शिव अधिकारीले बताउनु भयो ।

गल्छीमा मात्रै होइन धादिङ जिल्लाको अन्य स्थानमा रहेका  क्याम्पसहरू पनि विद्यार्थीको संख्या न्यून हुँदा  बन्द हुने अवस्थामा छन्।दुई बर्ष अघि सदरमुकाम धादिङबेसीमा रहेको गणेश हिमाल क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसमा गाभिएको थियो ।

गल्छी गाउँपालिकामा यस अघि नमूना वागेश्वरी बहुमुखी क्याम्पस, धादिङ बहुमुखी क्याम्पस र सफल कलेज सञ्चालनमा रहेपनि तीन वटै क्याम्पसले बिद्यार्थीको अभाव झेल्दै आईरहेका थिए । तीन वटै क्याम्पस एकीकृत गरी सञ्चालन गर्न नागरिक समाज, राजैनैतिक नेत्तृत्व, जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवालाई दवाव दिंदै आएपनि कार्यान्वयन भएको थिएन । बिद्यार्थीको अभाव बढ्दै जाँदा क्याम्पसहरु खर्च धान्न नसक्ने अबस्थामा रहेका छन् । ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका क्याम्पसले पनि विद्यार्थी अभावको समस्या भोगिरहेका छन् ।