गल्छी लामिडाँडा सितापाईला सडक छिटो बनाउन भौतिक पूर्वाधार मन्त्रीलाई अनुरोध

143 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
महेशदोभान (धादिङ) १४ भदौ बिहीबार २०८१ । राजधानी काठमाण्डौं प्रवेश गर्ने बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने गल्छी लामिडाँडा सितापाईला सडकको स्तरोन्नती गरी बाह्रै महिना मोटर गुड्न सक्ने बनाउन गल्छी गाउँपालिकाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण गराईएको छ ।

पृथ्वीराजमार्ग सडक स्तरोन्नतीको अबस्था अवलोकनका लागि विहीबार गल्छी गाउँपालिकाको बैरेनी आईपुग्नुका भएका मन्त्री दाहाललाई गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले लिखित पत्र बुझाउँदै गल्छी लामिडाँडा सडक स्तरोन्नतीका लागि अनुरोध गर्नु भएको हो ।

गल्छीबाट चकमके, पण्डितपौवा, छत्रेदेउराली हुंदै काठमाण्डौंको सितापाईला जोडिने यो सडक २०६० सालअघि नै ट्रयाक निर्माण भएपनि सडकको स्तरउन्नती हुन सकेको छैन । गल्छीबाट ४६ किलोमिटरको दुरीमा काठमाण्डौं पुग्न सकिने र बिचमा कतै खोला नाला समेत नभेटिने यो सडक राजधानी प्रवेश गर्ने पश्चिमी नाकाको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिन्छ ।

विहीबार गल्छी गाउँपालिकाको महेशदोभानमा एक कार्यक्रमको आयोजना गरि राजमार्ग विस्तारको अवस्था र अन्य सडकहरुको वारेमा मन्त्री दाहाललाई जानकारी गराईएको हो ।

सडक विस्तारको कार्य ढिलाई हुँदा स्थानीयवासीका साथै देश विदेशबाट पृथ्वीराजमार्ग भएर यात्रा गर्ने हरेक व्यक्तिले कठिनाई र सास्ती भोग्नु परेको भन्दै सडक विस्तार कार्यलाई तिव्र वनाउन स्थानीयवासीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

समुदायले राखेका मागहरु जायज रहेकाले जतिसक्दो छिटो सबैको गुनासो सुनुवाई हुने गरी कम क्षतिमा सडक बिस्तारलाई अघि बढाईने मन्त्री दाहालले बताउनु भएको छ ।

मन्त्री संगको अन्तरक्रिया कार्यक्रममा पूर्वसांसदद्धय खेम प्रसाद लोहनी, भूमी प्रसाद त्रिपाठीका साथै स्थानीय जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि,सामाजिक अगुवा, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।