चेपाङ समुदायले यस बर्षको छोनाम (न्वागी)  गोर्खाको तोमनडाडाँमा मनाउने

226 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १५ भदौ शनिबार २०८१ ।  चेपाङ समुदायले  हरेक वर्ष भदौ २२ गते मनाउने गरेको छोनाम (न्वागी) पर्व यो बर्ष गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाडाँमा सामूहिक रुपमा मनाईने भएको छ ।

चेपाङको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो भदौ २२ गते  चेपाङ समुदायले राष्ट्रिय धार्मिक पर्वका रुपमा छोनाम (न्वागी) पर्व मनाउने गर्दछन ।

यस वर्ष गोरखा जिल्लामा सामूहिक रुपमा छोनाम पर्व मनाउने निर्णय भएको नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।  अनुसार चेपाङ समुदायले विगत नौ वर्षदेखि चेपाङ सङ्घको समन्वयमा सामूहिक रुपमा उत्सव जस्तै गरी न्वागी मनाउँदै आएका छन् ।

उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि भदौभरि न्वागी मनाउने परम्परा रहेको छ।

अध्यक्ष चेपाङका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।

न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालु लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनका रुपमा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो । न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङले कुनै काम नगरी नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ रहेका अध्यक्ष चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै चितवनमा ३५ हजारको सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् भने २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।

चेपाङहरुको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आाएको अध्यक्ष चेपाङले बताउनुभयो ।