अम्लेश्वर मन्दिरमा लाग्ने एकादशी मेलाको तयारी पुरा

270 पटक पढिएको

सम्पादक: Dhading News

केशव अधिकारी
२५ कात्तिक २०८१ ।

महेशदोभान–   धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा रहेको अम्लेश्वर महादेव मन्दिरमा लाग्ने एकादशी मेलाको तयारी पुरा भएको छ ।

ठूलो एकादशीका नामले चिनिने हरिवोधिनी एकादशीको अवसरमा अम्लेश्वर महादेव मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्षेनी दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ । मेलालाई सभ्य र व्यवस्थित बनाउन  सरोकारवाला निकायहरु संग समन्वय र सहकार्य गरी तयारी पुरा भएको अम्लेश्वर महादेवस्थान संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष भिमसेन पाण्डेले जानकारी दिनु भयो ।

परिवार तथा आफन्तहरुको मृत्यु भएकाहरुले मृतकको सम्झनामा हरेक बर्षको हरिवोधिनी एकादशीको अघिल्लो राती यस मन्दिरमा रातभरी जाग्राम वसी वत्ती वाल्ने प्रचलन रहेको छ । यसरी बत्ती वाल्दा मृतात्माले शान्ति पाउने विश्वास रहि आएको छ । भगवान् विष्णुलाई पुज्ने दिनका रुपमा रहेको हरिबोधिनी एकादशीका दिन अम्लेश्वर महादेवको मन्दिरमा २ सय ५० वर्षअघिदेखि नै मेला लाग्दै आएको किंवदन्ती रहेको स्थानीय बुढापाकाहरुको भनाई छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाह नेपाल एकिकरणका क्रममा यस ठाउंमा आई वास वसेको वेला सपनामा हातभरी सयौं औला भएका भगवानले शाहलाई आर्शिवाद दिएको र सो आर्शिवाद पुरा भएपछि पृथ्वीनारायण शाहले सोही ठाउंमा मन्दिर वनाएर छाडेको विश्वास गरिन्छ । काठमाण्डौंको चारनारायण स्थान जान नसक्ने हरुले यस मन्दिरमा आएर पुजाआजा गर्ने गर्दछन ।

गोसाईकुण्डवाट बगेर आएको त्रिशूली नदीको किनारमा रहेका कारण मन्दिर क्षेत्रलाई पबित्र स्थलका रुपमा लिने गरिन्छ । हरिबोधिनी एकादशीको दिन पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा बिरामी नहुने धार्मिक विश्वास समेत रहेको छ । मन्दिरमा पुजाआजा पछि कतिपय भक्तजनले भाकल अनुसारको फुलको डोली समेत चढाउने गर्दछन ।यो बर्ष पनि कात्तिक २६ गते साँझ देखि २७ गते विहान सम्म मन्दिरमा मेला लाग्ने भएको छ । २६ गते बेलुका बत्ति बाल्ने तथा भजन पञ्चेबाजा लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम तथा २७ गते बिहान फुल को डोलि नदी तार्ने कार्यक्रम रहेको मन्दिर समितिले जनाएको छ ।

ठुलो एकादशी भनेर चिनिने हरिवोधिनी एकादशीका दिन ढिकी, जाँतो नचलाइने र चलाएमा भगवान् महादेवको अवमूल्यन हुने भएकाले कन्दमूल तथा फलफूल खाने चलन रहेको छ ।

धार्मिक, सांस्कृतिक एवम पर्यटकीय महत्व बोकेको अम्लेश्वर महादेव मन्दिर क्षेत्र पहिचान जोगाउन र जिर्ण भएका सम्पदाको पुर्ननिर्माण गर्न अम्लेश्वर महादेव मन्दिर जिर्णोद्धार समिति मार्फत केही पुर्वाधार निर्माण समेत गरिएका छन ।

पृथ्वीराजमार्ग र त्रिशूली नदीको किनारमा रहेको अम्लेश्वर महादेव मन्दिर स्थापना कहिले भएको हो भन्ने तिथि मिति नभेटिएपनि मन्दिरको स्थापनाका बारेमा विभिन्न किम्वदन्तीहरु भने रहेका छन् ।

अम्लेश्वर महादेवको मन्दिर रहेको स्थानलाई महेशदोभान भनिन्छ । बिक्रम सम्वत १९२२ साल सम्म महेशखोला अहिलेको पृथ्वीराजमार्गको किनारै किनार भएर बैरेनी वजार हुंदै अम्लेश्वर महादेव मन्दिर नजिकै आएर त्रिशूली नदीमा मिल्ने भएकाले यो ठाउँलाई महेशदोभान भनिएको हो । महेशखोलालाई बिक्रम सम्वत १९२२ साल पछि अहिलेको गल्छी वजार रहेको ठाउँमा ठुला ठुला चट्टान काटेर त्रिशूली नदीमा मिसाईएको इतिहासमा उल्लेख छ ।