वागमती प्रदेश सरकार योजना र वजेट कार्यान्वयनमा कमजोर चार महिनाको बजेट खर्च आठ प्रतिशत भन्दा न्यून

412 पटक पढिएको

७ मंसिर २०८१, शुक्रबार ०६:३७ सम्पादक: धादिङ न्यूज

हेटौँडा ,७ मंसिर २०८१। बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको छ ।

प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको चार महिनामा कमजोर देखिएको हो । गत आवको साउनदेखि कात्तिक मसान्तसम्ममा विनियोजित बजेटको चालु र पुँजीगतर्फ गरी नौ प्रतिशत खर्च गरेकोमा चालु आवको चार महिनामा चालु आवका लागि विनियोजित बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आवका लागि प्रदेश सरकारले गत असार १ गते ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँको कार्यक्रम र योजना कार्यान्वयन गर्न बजेट ल्याएकोमा गत कात्तिक मसान्तसम्ममा कुल बजेटको ७.९३ प्रतिशत अर्थात् पाँच अर्ब ११ करोड ६९ लाख नौ हजार रुपियाँ खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

गत आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ बजेट विनियोजन गरिएकोमा पहिलो चार महिनामा ९.२ प्रतिशत अर्थात् पाँच अर्ब ७८ करोड ७१ लाख रुपियाँ खर्च भएको थियो ।  चालु आवका लागि विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपियाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपियाँ रहेको छ ।