नेपाल पत्रकार महासंघको नेतृत्व चयनको निर्वाचन आज धादिङमा अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी
152 पटक पढिएको
धादिङ, २८ मंसिर २०८१ । नेपाल पत्रकार महासंघको पदाधिकारी चयनको निर्वाचन आज हुदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
धादिङमा अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि सीताराम अधिकारी राजन अधिकारी र शिव सिलवालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै उपाध्यक्ष महिलामा सरिता श्रेष्ठ र रविना विकको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिवराज आचार्य र बद्री अधिकारीको उम्मेदवारी रहेको छ ।
उपाध्यक्ष खुल्लामा मनिष दुवाडी, सचिवमा सन्तोषराज श्रेष्ठ,सह सचिवमा समावेशी तर्फ अस्मिता पोखरेल, खुल्ला तर्फ विकास रौनियार र सदस्यहरुमा अनिलकुमारी नेपाली ( दलित),सुशिला विक ( खुल्ला) र सनिता चेपाङ ( अल्पसंख्यक) निर्विरोध भईसकेका छन ।
जिल्ला कार्य समितिको अध्यक्ष–१,कोषाध्यक्ष १, खुल्ला सदस्य ४ र जनजाति सदस्य १ का लागि निर्वाचन हुंदैछ ।
प्रदेश परिषद सदस्यहरुमा लक्ष्मी शाक्य,लक्ष्मी भुजेल र राजाराम डंगोल निर्विरोध भई सकेका छन बाँकी २ जना खुल्लाका लागि निर्वाचन हुंदैछ । केन्द्रिय परिषद सदस्यमा पनि केशव अधिकारी निर्विरोध भएका छन् । अधिकारीलाई नारायण सिलवालले आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्विरोध बन्न सहयोग गरेका हुन ।
निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भइसकेको छ भने निर्वाचनको तयारी समेत पुरा भएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्याइसकेको छ । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ ।
केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन् ।
मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्ने समितिले जनाएको छ ।
यसै गरी प्रदेश समितिको अध्यक्षमा पनि २ जनाको उम्मेदवारी रहेको छ । प्रेस चौतारी र प्रेस युनियनको समूहबाट शिव देवकोटा र प्रैस सेन्टर लगायत अन्य समूहबाट कृष्ण सारु मगरको उम्मेदवारी रहेको छ ।