नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

179 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ,१ पुस २०८१ ।  नेपाल पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ ।  महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् । अध्यक्षका अर्का उम्मेदवार देवी प्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाएका थिए ।
बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य विजयी भए । उपाध्यक्ष महिलामा नितु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भएका छन् ।आचार्यले ४२३०, पण्डितले ४७०५ र बागचनले ४२९२ मत पाएका छन् ।
त्यस्तै महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ जन्मदेव जैशीले १ हजार १५८ र  प्रकाश थापाले ४८८ मत प्राप्त गरे ।
खुल्ला सचिवमा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा,सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेसीमा अशोक कुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा  वैकुण्ठराज पराजुली विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भए ।
पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो ।