रवि लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको निष्कर्ष रविविरुद्ध तीनवटा मुद्दा चलाउन राय : जीवी राईसहित ५१ जना प्रतिवादी

120 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ,२ पुस २०८१ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध तीन वटा मुद्दा दायर गर्न राय दिएको छ । कास्की प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको अनुसन्धान प्रतिवेदनमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन राय दिइएको हो । प्रहरीले दिएको रायमा लामिछानेलाई कैद र जरिवाना हुनुपर्ने उल्लेख छ ।
जसअनुसार प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानमा देखिएको भन्दै प्रहरीले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) को (४) (ङ) बमोजिम ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको हो । यस्तै लामिछानेलाई संगठित अपराधमा संगठित अपराध निवारण ऐनअनुसार थप ५० प्रतिशत सजाय हुनुपर्ने राय प्रहरीले सरकारी वकिलको कार्यालयलाई दिएको छ भने ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनले निषेधित गरेको कार्य गरेकोले २ देखि १५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना हुनुपर्ने प्रहरीको राय छ । लामिछाने सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले प्रत्येक मुद्दामा थप सजाय माग गरिएको हो । कास्की प्रहरीले लामिछानेविरुद्ध सूर्यदर्शन सरकारीको रकम अपचलन आरोपमा अनुसन्धान गरेको हो । उक्त सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र लामिछानेसमेत गरी ५१ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न प्रहरीको राय छ । पूरक जाहेरी आउनुअघि पक्राउ परेर अहिले कारागारमा रहेका र सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्न राय दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

लामिछानेसहित ५० जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय दिएको हो । जीबीको हकमा भने थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरीको अनुसन्धान निष्कर्ष छ । अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले जानकारी दिए । जीबी राईले क्रिप्टो मार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएको छ ।

रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले बताए । सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईसहित ५ जना अहिले थुनामा छन् । थुनामा हुनेमा उनीहरुसहित तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ छन् । यसअघिको मुद्दामा प्रतिवादी बनेकाहरूलाई पनि प्रहरीले दोस्रो पटक प्रतिवादी कायम गरेको छ । उनीहरुविरुद्ध पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुनेछ ।

ठेगाना नखुलेका १४ जनालाई ठेगाना खुलाएर अदालतमा उपस्थित गराउने कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यसैगरी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि रास्वपाका सभापति लामिछाने थप केहीदिन हिरासतमै रहने छन् । लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएको छ । मंगलबार उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘अभियोजन नगर्दासम्म उहाँलाई हिरासतमा राख्न म्याद लिनुपर्छ ।’

सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो । लामिछाने सूर्य थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा गत कात्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएअनुसार उनी पक्राउ परेका थिए । पक्राउ परेसँगै स्थलमार्ग हुँदै पोखरा लगिएका उनलाई त्यहाँ बयान गराउनुका साथै पक्राउ पुर्जी भएका काठमाडौँ, चितवन, बुटवल र पर्सा समेत लगिएको थियो । उनीविरुद्ध विभिन्न ५ जना सहकारीको रकम हिनामिना गरेको आरोप छ । रवि र उनका समर्थकले भने सरकारले षड्यन्त्र गरेर फसाएको दाबी गर्दै आएको छ ।