धादिङमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै
149 पटक पढिएको
धादिङ, ६ मंसिर २०८१ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।आयुर्वेद सेवाको प्रवद्र्धनका बिषयमा पुस ५ गते शुक्रवार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कार्यालयले गत आर्थिक बर्षमा प्रवाह गरिएका सेवा, आगामी बर्षको कार्यक्रमहरुका बारेमा जानकारी गराएको हो ।
सदरमुकाम स्थित चिकित्सालयले आर्युर्वेेद र वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न रोगको उपचार सेवा दिन थालेपछि यहाँ उपचार गर्ने बिरामीको सङ्ख्या बढेको हो । चिकित्सालयबाट आव २०८०/८१ मा ९ हजार छ सय ९९ जना बिरामीले उपचार गराएका छन् । आव २०७९/८० मा ७ हजार नौ सय ३१ जनाले सेवा लिएका थिए भने आ.व. २०७८ ७९ मा ३ हजार सात सय जनाले सेवा लिएका थिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अम्लपित्त, सन्धिगत वात, अर्श, कटिशुल,ग्रहणी,फिसर, उच्च रक्तचाप,उदर रोग, कास, स्वास जस्ता रोगका विरामीहरुले सेवा लिने गरेका छन् ।
चिकित्सालयले बहिरङ्ग सेवा, प्रयोगशाला सेवा,फिजियोथेरापी सेवा,अकुपन्चर सेवा,ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा, स्वस्थ्य जिवन सेवा ,स्तनपायी आमा दूधवर्धक औषधि वितरण, योग, पञ्चकर्मअन्तर्गत पूर्वकर्म , ल्याब सेवा, क्षारसुत्र, क्षारकर्म, अग्निकर्म र मर्म थेरापी,२३ प्रकारका औषधि निःशुल्क वितरण लगायत सेवा दिइरहेको कार्यालय प्रमुख डा. अमुल्य दहालले वताउनु भयो ।
आव ८०/८१ मा पूर्वकर्म/पञ्चकर्म सेवा लिनेको सङ्ख्या पाँच हजार तीन सय ८ रहेको छ भने ४५ जनाले शल्य चिकित्सा सेवा लिएका छन् । त्यसै गरी एक हजार चार सय १८ जनाले योग सेवा, दुई हजार एक सय १९ जना जेष्ठ नागरिकले (स्नेहन,स्वेदन र रसायन औषधि) सेवा लिएका छन् ।
चिकित्सालयले कार्यालयमा आउने विरामी बाहेक स्वास्थ्य शिविर, घुम्ति शिविर सञ्चालन गरेर पनि सेवा दिंदै आईरहेको छ । जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेर पनि समुदायलाई सचेतना जगाउने काम गरिरहेको कार्यालयले जनाएको छ । त्यसै गरी हरेक बुधबार चिकित्सालयमा आउने विरामीको लागि खाजा कार्यक्रम पनि संचालनमा रहेको छ ।