धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा ‘सरु’ निर्वाचित
299 पटक पढिएको
पोखरा, ६ मंसिर २०८१ । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।
समाजको शनिबार पोखरामा सम्पन्न २६औँ साधारणसभा तथा १३औँ अधिवेशनले सरुलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
याेसँगै समाजले २६ वर्षकाे इतिहासमा पहिलाे पटक महिला नेतृत्व पाएकाे छ । समाजको वरिष्ठ उपाध्यक्षमा टीकाबहादुर लम्साल, उपाध्यक्षमा दिनेश तुलाधर, महासचिवमा प्रकाश दुलाल, सचिवमा युवराज खनाल, कोषाध्यक्षमा कमल सापकोटा र सहकोषाध्यक्षमा तोयनाथ सापकोटा छन् ।
यसैगरी कार्यसमिति सदस्यमा राजन श्रेष्ठ, लालप्रसाद ढकाल, भूपेन्द्र सिलवाल, रामप्रसाद नेपाल, विष्णुमान शाक्य, अञ्जली लम्साल, रामबहादुर सुनार मिलन, होमबहादुर थापा मगर छन् । समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ संयोजक, नवराज दुवाडी, हरि अर्याल, बलराम खतिवडा, गोकर्ण लम्साल, रामकृष्ण दुवाडी सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको भन्दै सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने भएकाले मुलुक निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताए ।
समाजको उत्कृष्ट कार्यक्रमकै कारण रेडक्रस सोसाइटीबाट तीन पटकसम्म सम्मानित भइसकेको हुँदा समाज यस्तै सामाजिक कार्यमा अग्रसर बन्दै अघि बढ्ने विश्वास उनले व्यक्त गरे । ‘घर छाडेपछिको बसाईं सहज र अपेक्षा गरेझैं हुँदैन । टाढाको रहनसहन, दुःख पीडा, साह्रो गाह्रोकोको केही न केही अनुभव र अनुभूति हरेकलाई हुने गर्दछ । सामाजिकरणका लागि निकटसँग संगत र सम्पर्कमा रहनुपर्छ’, उनले भने । उनले थपे, ‘परको ठाउँमा आफन्त परिवारको दर्जा स्वरुप सहायक सिद्ध हुने उद्देश्यले नै यसरी संस्थामा तपाईंहरू एकताबद्ध हुनुभएको भन्ने लाग्दछ, जीवनलाई सुखद् र सरल अनुभूति गर्न आपसी मेलमिलापले सघाउ पुर्याउँदछ ।’ पोखरा उद्याग वाणिज्य संघका महासचिव शोभा गौतमले सामाजिक संघ संस्थाको सक्रियताले मात्रै मुलुक समृद्ध बन्ने बताइन् ।
पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक बिमला भट्टले धादिङ समाजको कार्य उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् । समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष नवराज दुवाडी, सल्लाहकार रामकृष्ण दुवाडी, वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ सरु, महासचिव हरि पन्त, कोषाध्यक्ष सुरेन्द्र विकलगायतले बोलेका थिए । सो अवसरमा समाजका निवर्तमान अध्यक्ष गोकर्ण लम्सालसहित कार्यक्रम संयोजक र उत्कृष्ट सहयोग दातालाई सम्मान गरिएको थियो ।