नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म

91 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२२ पुस २०८१ । नेपाली सेनाले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस -२०८१ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ।  नेपाली सेनाको टोली आइतबार बिहान गोरखादेखि काठमाडौंसम्मको ‘एकीकरण पदयात्रा’मा निस्किएको हो ।

गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका प्रथम ६ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज)को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्रीरणसिंह दल गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीको सहभागिता रहेको छ ।

आईतबार सांझ धादिङ रानीपौवा आईपुगेको उक्त पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई झण्डा र टर्च हस्तान्तरण गरेको थियो । यस्तै धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकाको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

गाेरखाबाट ल्याईएकाे  एकीकरण टर्च र झण्डा धादिङकाे आरुघाटमा हस्तान्तरण भई साे पदयात्राकाे टाेली ऐतिहासिक रानीपाैवामा बास बसेकाे छ ।  पदयात्राकाे दाेश्राे दिन पुस २२ गते रानीपाैवाबाट बिहान ८ बजे टाेली प्रस्थान गर्ने छ । टाेलि हासेपसल, खहरे, लपाङ, कटुन्जे पुगेर बासबसी पुस  २३ गते दिउसो नुवाकाेटकाे टाेलीलाई सामरीभज्याङमा बुझाउने छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका पैदलमार्गमा ब्यान्ड सहित परम्परागत पोसाक लगाएका शार्दुलजंग गुल्मका सेना सहितका टोली आइतबार बिहान गोरखा दरबारबाट काठमाडौं हनुमानढोका दरबारसम्मका लागि हिँडेको हो ।

पदयात्राका सहभागी सैनिकलाई पश्चिम पृतनापति उपरथी मधुकरसिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च, नेपालको झन्डा र नेपाली सेनाका स्थापनकालका प्रथम ६ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज) को झन्डा हस्तान्तरण गरेर पदयात्राको शुभारम्भ गरेका थिए ।

 काठमाडौंको हनुमानढोकाबाट गोरखा दरबार २६ कोसको दूरीमा रहेको छ।

पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायतका ऐतिहासिक सम्पदाहरू रहेका छन्। पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ। जसका कारण ऐतिहासिक सम्पदा जोखिममा रहेको बताइएको छ। पुरानो हुलाकी मार्गका रूपमा रहेको बाटो आसपासका पुराना चौताराको पनि संरक्षण हुन सकेको छैन। कोट, किल्ला, गढीको इतिहास सेनासँग जोडिएकाले यस्ता सम्पदाको संरक्षण हुने अपेक्षासमेत गरिएको छ।

पदयात्रा पुस २६ मा काठमाडौं पुग्नेछ । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा विसं २०७४ सालबाट नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्म एकीकरण पदयात्रा गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *