धादिङ सहित आसपासका क्षेत्रमा हल्का वर्षा

14 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १६ फागुन २०८१ । धेरै लामो समय पछि धादिङ सहित आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ ।

असोज महिना पछि शुक्रबार वर्षा भएको हो । पोहोर परार पुस-माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको हो ।

प्राकृतिक पर्यावरणीय सन्तुलन र हाम्रो जीवनको लागि हिउँदे वर्षाको विशेष महत्त्व छ। हिउँदे वर्षाले उपल्लो भेगमा हिउँ जम्मा गराउँछ भने मध्य पहाड र तराईमा पनि यसको खास महत्त्व हुन्छ। हिउँदमा सिमिसिमे वर्षा हुन्छ। अलिअलि बिसाउँदै, फेरि पर्दै गर्नु हिउँदे वर्षाको खास चरित्र हो। जमिनमा सोसिएको हिउँदे पानीले जलाधारमा जल पुनःभरण गर्न र मूल जगाउन ठूलो योगदान गर्छ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा जाडोयाममा पर्ने हिउँ र पानी प्राकृतिक भण्डारणका रूपमा रहन्छ र पछि बिस्तारै पग्लेर पानी मुहान, नदीमा उपलब्ध हुन्छ। वर्षायामको झरीको ठूलो हिस्सा बगेर जान्छ भने हिउँदे झरीको धेरै पानी जमिनमा सोसिन्छ। हिउँदे वर्षाले जमिनमा झरेका बिउमा चिस्यान कायम राखे पछि बसन्त ऋतुमा अङ्कुरण हुन र बिरुवा हुर्कन सहयोगी हुन्छ। पाखोमा लगाएका गहुँ, जौ, तोरी, केराउ जस्ता हिउँदे बालि हिउँदे वर्षामै निर्भर हुन्छन्।

विगत केही वर्षयता हिउँदे वर्षा एकदम कम हुन थालेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *