गल्छी गाउँपालिकाको कार्यालय अब बैरेनीवजारमा बनेको आफ्नै प्रशासकीय भवनमा

573 पटक पढिएको

२३ फाल्गुन २०८१, शुक्रबार ०६:३८ सम्पादक: धादिङ न्यूज

धादिङ २३ फागुन २०८१ । गल्छी गाउँपालिकाको प्रशासनिक भवन (गाउँपालिका कार्यालय) बैरेनीबजारबाट संचालन हुने भएको छ ।

गल्छी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले २०८१ फागुन १९ गते सार्वजनिक सूचना प्रकाशित गरि नयाँ भवनबाट कार्यालय संचालन हुन लागेको जानकारी गराएको हो ।

अम्लेश्वर महादेव मन्दिर परिसरमा रहेको नयाँ शहर आयोजना कार्यालयबाट बैरेनी वजारमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनमा कार्यालय स्थानान्तरण गरि फागुन २३ गते देखि सेवा सूचारु हुने कार्यालयले सूचना मार्फत जानकारी दिएको छ ।

गल्छी गाउँपालिका स्थापना भएपछि केही समय अहिले भवन निर्माण गरिएको स्थानमा रहेको साविकको बैरेनी गाविस कार्यालयमा राखिएको थियो भने पहिलो स्थानीय तहको निर्वाचन भएपछि बैरेनीवजारमा घर भाडामा लिएर कार्यालय  संचालनमा ल्याईएको थियो ।

पाँच बर्ष सम्म भाडाको घरमा संचालन गरिएको कार्यालय २०८० जेठ १ गते देखि ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थल गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा रहेको नयाँ शहर आयोजना कार्यालयबाट संचालन गरिएको थियो ।

प्रशासनिक भवन निर्माण कार्य दश करोड नव्वे लाख बैसठ्ठी हजार एक सय रुपैयाँको लागतमा सम्पन्न भएको हो ।