धादिङको नीलकण्ठ क्याम्पसमा अनिश्चितकालका लागि रोकियो स्ववियु चुनाव

78 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २९ फागुन २०८१ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थागित हुन पुगेको छ ।

निर्वाचन समितिका संयोजक डा. मुरारी अधिकारीले  राजिनामा दिएको कारण देखाउँदै क्याम्पस प्रशासनले स्ववियु चुनाव निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो ।

‘यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजिनामा दिनुभएको कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ,’ क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

आन्तरिक कलहका कारण नेपाल बिद्यार्थी संघ धादिङको नामबाट अलग अलग जिल्ला समिति मार्फत गतिविधि सञ्चालन हुंदै आईरहेको छ । स्ववियू र्विाचनका लागि मंगलबार नेवि संघको दुई प्यानल दर्ता भएपछि नेविसंघ केन्द्रिय अध्यक्षले भवानी भट्टराईको प्यानल नै नेविसंघको आधिकारी प्यानल रहेको पत्र जिल्लामा पठाएका थिए ।

भीम ढुङ्गाना र रमेश धमला पक्षले भवानी भट्टराईको नेतृत्वमा एउटा प्यानल बनाएको थियो भने कृषि मन्त्री एवम् जिल्ला सभापति रामनाथ अधिकारी पक्षले राजन अधिकारीको नेतृत्वमा अर्को प्यानलको उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाल विद्यार्थी संघ केन्द्रीय दुजाङ शेर्पाले उम्मेदवारी मनोनयन पत्र दर्ताका क्रममा नेपाल विद्यार्थी संघ बाट भवानी भट्टराईको समूह नै नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार रहेको जानकारी पत्र जिल्लामा पठाएपछि नेविसंघ भित्रको द्धन्द्ध निर्वाचन समिति सम्म पुगेको हो ।

स्थापना कालदेखि नीलकण्ठ क्याम्पसको स्ववियुमा नेविसंघको एकछत्र पकड रहँदै आएको छ ।
यस पटकको निर्वाचनमा एमाले निकटको अनेरास्ववियु र माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी मिलेर चुनावमा गएका छन् ।

धादिङ जिल्लामा १२ वटा सामुदायिक क्याम्पस भएपनि नीलकण्ठ सहित ४ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृया अघि बढेको छ थियो । धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पस जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेका क्याम्पस हो । जसमा ९ सय १३ जना विद्यार्थी भर्ना भएका तथ्याङ्क छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *