वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
70 पटक पढिएको

काठमाण्डौं, १ चैत २०८१ । नेपाली साहित्यका शिखर पुरुष तथा ‘बसाइँ’ जस्ता कालजयी कृतिका सर्जक लीलबहादुर क्षेत्रीको निधन भएको छ।
उनको निधन भारतको आसाममा गएराति १० बजेर १० मिनेटमा आफ्नै निवासमा भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्वपूर्ण छ । उहाँ एक सफल उपन्यासकार, कथाकार, निबन्धका हुनुहुन्थ्यो । उहाँको पहिलो रचना सन् १९४९ मा शालाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो । हालसम्म उहाँका प्रकाशित पुस्तकहरूमा बसाईं (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६), प्रतिध्वनि विस्मृतिका (२००४) जस्ता उपन्यास छन् । उहाँका तीन दशक बिस अभिव्यक्ति (१९८३), लीलबहादुर छेत्रीका कथाहरू (१९९७) र कहिल्यै नफुक्ने गाँठो (२०१३) गरी तीन वटा कथासङ्ग्रह प्रकाशित छन् ।
क्षेत्री नेपाली भाषा र साहित्यका एक विशिष्ट हस्ती थिए। उनले ‘बसाइँ’ जस्ता यथार्थवादी उपन्यासमार्फत नेपाली समाजको दुःख, विस्थापन र संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए। उनका कृतिहरू केवल साहित्यिक सृजनामा सीमित रहेनन्, ती नेपाली समाज, संस्कृति र पहिचानको ऐनाजस्तै बने।
उनको लेखनीले विशेष गरी भातीय नेपालीहरूको वेदना उजागर गर्यो।
सामाजिक, सांस्कृतिक र ऐतिहासिक चेतनाले भरिपूर्ण उनका रचनाहरू नेपाली साहित्यका आधारशिला मानिन्छन्। उनलाई भारत सरकारले सन् २००८ मा प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कार प्रदान गरेको थियो, जसले उनको साहित्यिक योगदानलाई अझ व्यापक मान्यता दिलाएको थियो।
क्षेत्रीको निधनले नेपाली साहित्यले एउटा युग गुमाएको छ। साहित्यिक जगतमा उनको स्थान अपूरणीय रहनेछ।
क्षेत्रीको जन्म सन् १९३३ मार्च १ मा गौहाटीमा भएको थियो।