धादिङमा नागरिकता सिफारिस अब अनलाइनबाट

119 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १ चैत २०८१ । धादिङमा नागरिकताको प्रमाणपत्र लिनका लागि २०८१ चैत १ गतेबाट अनलाइनमार्फत सिफारिस सेवा सुरुआत  भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सबै वडाबाट नागरिकताको अनलाईन सिफारिस गर्ने व्यवस्था मिलाएको  जनाएको छ ।

यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हट्ने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाईएको हो ।

अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्दा गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्, ।

गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । वडाबाट संकेत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता दिने व्यबस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनु भयो ।

अनलाइन प्रणालीबाट नागरिकता सिफारिससम्बन्धी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट गरिएको छ।

राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, आन्तरिक राजस्व कार्यालयले जारी गरेको प्यान नम्बर, सवारी चालक अनुमतिपत्रलाई पनि सफ्टवेयरमा समावेश गरिएको छ। अनलाइनमार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो हुने प्रजिअ घिमिरेको भनाइ छ।

वडामा अनलाइन भरिसकेका सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउँदा २ प्रति फोटो र सक्कल कागजात भने साथमा लिएर जानुपर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *