मुग्लिन-मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा
39 पटक पढिएको

धादिङ, २ चैत २०८१ । चितवन-मुग्लिन-मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ। हालसम्म २५ प्रतिशत प्रगति भएको छ। नागढुंगा-मुग्लिन सडक आयोजनालाई तीन प्याकेजमा छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ। करिब ९५ किलोमिटर दूरी रहेको यो सडकखण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो। पहिलो प्याकेजमा नागढुंगा-नौबिसे, दोस्रोमा नौबिसे-मलेखु र तेस्रोमा मलेखु-मुग्लिन गरी छुट्याइएको छ।
पहिलो प्याकेजअन्तर्गत नागढुंगा-नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ। तेस्रो प्याकेजअन्तर्गतको नागढुंगा-मुग्लिन सडक योजना पश्चिमखण्ड चितवनका इन्जिनियर विजय दरैका अनुसार अहिले सडक खण्डमा कालोपत्र र पुलको काम जारी छ। दैनिक दुई सयहाराहारीले काम गरिरहेको उनले बताए।
चुम्लिङटार, कुरिनटार र लेवाटार क्षेत्रमा चार किलोमिटर सडकको दुई लेन कालोपत्र गरिसकिएको छ। बजार क्षेत्रमा चार लेन सडक बन्नेछ। कुरिनटार, लेवाटार र चुम्लिङटारका बाँकी क्षेत्रमा कालोपत्रको काम भइरहेको छ। फिस्लिङ, बेनीघाट र चरौँदीमा सबबेसको काम गरिँदै छ। सो सडकखण्डमा पर्ने ६ वटा पुलमध्ये चारवटाको सबस्ट्रक्चर सम्पन्न गरिएको जनाउँदै दराईले असारसम्ममा चार पुल सम्पन्न गर्ने योजना रहेको बताए।
चरौँदी र हुग्दीका दुई पुलको फाउन्डेसनको काम भइरहेको छ। अन्य क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ। भित्तो काट्ने र तलबाट उठाउने काम गरिँदै छ। कतिपय ठाउँमा नाली निर्माणको काम भइरहेको छ।
आयोजनाका प्रमुख केदारप्रसाद नेपालले असार मसान्तसम्ममा १६ किलोमिटर कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। यसैगरी, चार पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। उनले भने, ‘गत वर्षको पुस-माघमा पाँच प्रतिशत मात्रै काम भएको थियो।’ लक्ष्य लिएको १६ किलोमिटर सडकमध्ये आठ किलोमिटर बजार क्षेत्रमा पर्दछ। बजार क्षेत्रमा चार लेन सडक हुने हुँदा समय लाग्ने भएकाले अहिले बजार केन्द्रीय काम गरिएको बताए।
विद्युतका खम्बा सार्ने काम अझै सकिएको छैन। नेपालका अनुसार ९० खम्बामध्ये ५० सार्न बाँकी छ। सरकारी वन क्षेत्रका रुख काट्ने काम सकिएको छ। समयमा निर्माण सामग्रीको उपलब्धता नहुँदा काममा समस्या आएको उनले बताए। यसका अतिरिक्त निर्माण कम्पनीले आवश्यक स्रोतसाधन परिचालन गर्न नसक्दा पनि समयमा काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ।
ठेक्का सम्झौता ०७९ पुस १५ गते भएको हो। कुल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा शर्मा-जेडआइसिजीले यो सडकखण्ड निर्माणको जिम्मा पाएको थियो। सम्झौताअनुसार ०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने हो।
यही सडक खण्डमा गत असोज ११, १२ र १३ गते परेको भीषण वर्षाका कारण कृष्णभिरलगायतका क्षेत्रमा नयाँ पहिरो खसेको थियो। ती पहिरोको व्यवस्थापनका लागि लागत अनुमानको काम भइरहेको छ। यस खण्डका ६ स्थानमा पहिरो जाँदा सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो। कृष्णभिरमा करिब सय मिटरसम्म सडक भासिएको थियो। सडक स्तरोन्नतिसँगै सोको पुनर्निर्माणसमेत गर्नुपर्ने हुन्छ।
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडकको स्तरोन्नति गरिएको हो। यो सडक हुँदै राजधानी प्रवेश र बाहिरिने भएकाले सवारीसाधनको निकै चाप हुने गर्दछ। सवारीसाधनको उच्च चापका बाबजुद काम गर्नुपर्दा सोचेजस्तो प्रगति गर्न कठिन हुने गरेको नेपालको भनाइ छ। यो सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ। सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन्।