पतेनीबाट सदरमुकाम आएका २ किशोरी बेपत्ता

1186 पटक पढिएको

२ चैत्र २०८१, शनिबार १७:२२ सम्पादक: धादिङ न्यूज

बेपत्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–५, पतेनीका संगीता श्रीमलकी १८ वर्षीया छोरी दुर्गा श्रीमल र सोही स्थानकी रिंकी मचकोटीकी १३ वर्षीया छोरी सबिना मचकोटी छन्।

उनीहरू होली खेल्न भनी बिहीबार धादिङबेसी गएकामा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होलीको दिन फागुन २९ गते दिउँसो १२ बजेतिर घरबाट निस्किएका उनीहरू त्यो रात आफन्तको घरमै बसेको भनी दुर्गाको मोबाइलबाट सबिनाकी आमा रिंकीलाई फोन आएको थियो।

रिंकीको बुवाको फूपूदिदीको घर (सबिनाको फूपू हजुरआमा) धादिङबेंसी सुनौलो बजारमा छ। अरू बेला पनि बजार जाँदा उनीहरू त्यहीँ बस्ने गरेको बताइएको छ ।

दुर्गाले पढाइ छोडिसकेकी छन् भने सबिना गाउँमै रहेको पतेनी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्थिन्।

उनीहरू बसेको घरबाट शुक्रबार (हिजो) बिहानै मन्दिर गएर आउँछौँ अनि दिउँसो घर जानी भनेर निस्किएको आफन्तहरू बताउँछन्। तर उनीहरू नफर्केपछि आफन्तले घर गए होलान् भन्ने सोचेका थिए।

तर रातिसम्म पनि घर नपुगेपछि दुर्गा र सबिनाका परिवारले छोरीहरू हराए भनी धादिङ प्रहरीलाई खबर गरेका थिए ।

धादिङ प्रहरीले बेपत्ता दुई बालिकाको हुलियासहित खोजीमा सहयोग गर्न आम नागरिकसँग अपिल गरेको छ।

प्रहरीका अनुसार गहुँगोरो वर्ण करिब ५ फिट उचाइ भएकी दुर्गा श्रीमलले सेतो टिसर्ट र कालो पाइन्ट लगाएको जानकारी आफन्तले गराएका छन्।

यस्तै गहुँगोरो वर्णकै करिब ४.५ फिट उचाइकी १३ वर्षीया सविना मचकोटीले धर्के कुर्ता र कालो पाइन्ट लगाएको आफन्तले बताएका छन्।

यस्तो हुलिया भएका बालिकालाई कोही कसैले देखे नजिकको प्रहरी चौकीमा खबर गरिदिन धादिङ प्रहरीले अनुरोध गरेको छ।