धादिङमा एसईईको सम्पूर्ण तयारी पुरा, ५ हजार ४ सय ७५ जनाले परीक्षा दिंदै

578 पटक पढिएको

४ चैत्र २०८१, सोमबार २१:०७ सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

धादिङ,४ चैत २०८१ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा धादिङ बाट ५ हजार ४ सय ७५ जना विद्यार्थी सहभागी हुँदैछन्।

चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा  (एसईई) को तयारी  धादिङमा  पूरा भएको  शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदीले  जानकारी दिनुभयो

इकाई प्रमुख सुवेदीका अनुसार यस वर्ष एसईई परीक्षामा धादिङबाट ५ हजार हजार ४ सय ७५ विद्यार्थी सहभागी हुँदै छन्। जसमा नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना विद्यार्थी सहभागी हुँदैछन् ।धादिङ जिल्लामा सामुदायिक १ सय ३४,संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालय एसईईमा सहभागि हुनेछन् ।

परीक्षाका लागि जिल्लाभर २४ वटा केन्द्र तोकिएको छ । जसमा च्याम्रादेवी मावि रुवीभ्याली, बच्छलादेवी मावि खनियाबास, मण्डली मावि गंगाजमुना, सल्यानटार मावि, रानीपौवा मावि र अचने मावि त्रिपुरासुन्दरी,महेन्द्रबाराही मावि नेत्रावती डवजोङ,नीलकण्ठ नगरपालिका भित्र नीलकण्ठ मावि, धादिङ आवासीय मावि.,चिल्ड्रेन पार्क आवासिय मावि,देउराली मावि र पशुपति मावि ज्वालामुखीमा सुनखानी मावि र शमिभन्ज्याङ मावि,सिद्धलेकको मिन्दुका मावि, वेनिघाटरोराङको चन्द्रोदय मावि र वागेश्वरी माविमा परीक्षा केन्द्र तोकेको छ ।

त्यसै गरी गजुरीको आदर्श मावि,गल्छीको जनकल्याण मावि र वागेश्वरी मावि, थांक्रेको महाकाली मावि र जनजागृत्ति मावि धुनिबेशीको मछिन्द्र मावि र महेशधर्म मावि गरि जिल्लाभर २४ परीक्षा केन्द्र कायम गरिएको र परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रअ नै सम्बन्धित परीक्षा केन्द्रको केन्द्राध्यक्ष हुने इकाई प्रमुख सुवेदीले जानकारी दिनु भयो ।

परीक्षामा २४ जना केन्द्राध्यक्ष, ४३ जना सहायक केन्द्राध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक र ३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी समेत गरी जिल्लाभर ८ सय ७५ जना मानविय जनशक्ती प्रत्यक्ष परिचालन गरिएको छ ।

इकाईले एसइई परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा सहयोग पुर्‍याउन बिद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला सबैमा आग्रह समेत गरेको छ । परीक्षालाई भयरहित,मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई आवश्यक तालिमका साथै निर्देशन दिईसकिएको इकाई प्रमुख सुवेदीले वताउनुभयो ।

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका लागि नयाँ बाटो खुला हुने भएकाले एसईईको परीक्षालाई महत्व दिने गरिएको छ। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।

गत वर्ष धादिङबाट ४ हजार ९ सय ११ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए। गत वर्षको तुलना यस वर्ष ५ सय ६४ जना  विद्यार्थी बढेका छन् ।

चैत ७ देखि शुरु हुने परीक्षा चैत १९ सम्म सञ्चालन हुनेछ ।