स्ववियु चुनाव आज,नेविसंघघको आन्तरिक कलहले नीलकण्ठ क्याम्पसमा हुन सकेन चुनाव

505 पटक पढिएको

५ चैत्र २०८१, मंगलवार ०७:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ- नेपाल बिद्यार्थी संघ भित्रको आन्तरिक कलहले धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियु चुनाव स्थगित हुन पुगेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मंगलबार चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ।

धादिङमा नीलकण्ठ क्याम्पसमा चुनाव रोकिएपनि जिल्लाको चन्द्रोदय बहुमुखी विशालटार, जयबागेश्वरी मलेखु, मछिन्द्र बहुमुखी खानीखोलामा भने स्ववियु चुनाव हुंदैछ ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार १४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ। विश्वविद्यालय क्याम्पसमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ बाट मतदान गरिने जनाइएको छ। मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ।