भीमोदय मावि गाेलाङमा ‘पार्वती’ स्मृति अक्षयकोष घाेषणा

335 पटक पढिएको

१७ चैत्र २०८१, आईतवार ०६:४८ सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गाेलाङस्थित भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष स्थापना गरिएको छ । अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष घाेषणा गरेका हुन् । कोषमा  पार्वतीकाे घरपरिवारबाट एक लाख ११ हजार एक सय ११ र माइती परिवारबाट ५० हजार पाँच सय पाँच रुपैयाँ रहनेछ् ।

पार्वतीका पति शम्भु अधिकारी, पिता घनश्याम पाण्डेलगायत परिवारजनले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीकाे उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बसाैला, प्रधानाध्यापक बिष्णुहरि शाहलाई अक्षयकोष रकमकाे चेक हस्तान्तरण गरेका हुन् ।

धादिङकाे गाेलाङ जन्म, सिद्धलेक-२ नलाङ कर्मघर भएकी पार्वतीले पाेखरालाई कर्मथलाे बनाउँदै आएकी थिइन् । उनकाे ३७ वर्षको उमेरमा गत माघ १६ गते पाेखरामा निधन भएकाे थियाे ।

अक्षय कोष स्थापनाका लागि बिद्यालयलाई चेक हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षत्री,त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती,कृषि बजार व्यवस्थापन समिति अध्यक्ष नवराज दुवाडी,धादिङ-पाेखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ,पार्वतीका जेठाजु गाेकर्ण अधिकारी,पार्वतीका पति शम्भु अधिकारी,भीमाेदय माविका प्रधानाध्यापक बिष्णुहरी शाह,  रि माविका प्रधानाध्यापक (पार्वतीका भिनाजु )रामचन्द्र सिटाैला, पार्वतीका जेठाजु बलराम अधिकारी लगायतले  स्वर्गिय पार्वतीको सम्झना गर्दै अक्षय कोषको सदुपयोग गरेर पार्वतीलाई अमर बनाउन सक्नुपर्नेमा जोड दिएका थिए ।