आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

298 पटक पढिएको

१९ बैशाख २०८२, शुक्रबार ०५:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ,बैशाख १९, २०८२ शुक्रबार ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोसाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्।

संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ। प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ। नेपालको संविधानअनुसार आगामी जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ।