जागिरको प्रलोभन दिएर दुई युवती भारत लैजाँदै गर्दा गल्छीका रोजन भुजेल बिरगञ्जमा पक्राउ
631 पटक पढिएको
बिरगञ्ज, २५ बैशाख ।राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई बिरगंज स्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष २४ का रोजन भुजेल रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले धादिङन्युज लाई बताएका छन्।
वीरगञ्ज शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलवार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुबैजना युवतीलाई जिल्ला प्रहरी कार्यालय वीरगंजमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा साथैमा रहेका भुजेलले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएको एसपी मिश्रले बताए।
आरोपी रोजन भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्साल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।







