धादिङको निगालपानीमा आफ्नै भतिजले खुकुरी हान्दा ८८ बर्षिय बृद्ध गम्भिर घाईते
536 पटक पढिएको
धादिङ, २५ बैशाख २०८२ । धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी चिप्लिेटीका ८८ वृद्धमाथि आफ्नै भतिजले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।
निगालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथी आफ्नै दाईको छोरा ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि बिहीबार दिउँसोनै थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल पठाईएको छ ।
घाईते वृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार वृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको वृद्धले नै काजक्रिया गरिदिएका थिए ।
हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन् ।
बाबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।







