धादिङमा अनुमति नलिई  पठाओको नाममा यात्रु बोकेर ठगि

442 पटक पढिएको

२१ जेष्ठ २०८२, बुधबार ०५:५९ सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

धादिङ,२१ जेठ २०८२ । धादिङमा पठाओ, इनड्राईभको नाममा यात्रु बोकेर जवर्जस्ती भाडा असुल्दै आइरहेका पाँच वटा मोटरसाईकललाई मंगलबार धादिङ प्रहरीले नियन्त्रणमा लिई त्यस्का चालकलाई जरिवाना गरेको छ ।

पठाओको नाममा ठगीभएको यो पहिलो पटक भने होइन , कुनै पनि निकायबाट अनुमति समेत नलिई मोटरसाईकल,अटोको माध्यमबाट यात्रु बोक्दै मनलाग्दी भाडा असुल्ने काम धादिङ जिल्लाभर निर्वाध रुपमा चलिरहेको छ ।आफूलाई पठाओ चालक भन्दै बार्गेनिङ गरेर यात्रु ओसार्नेहरू बढ्दै गइरहेका छन् ।

धादिङमा कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको भएपनि नियमन गर्ने निकायले चासो नदिंदा  यात्रुहरुलाई सेवा दिने नाममा ठगि गर्ने काम बढिरहेको छ । जिल्लाभर कति वटा मोटरसाईकल र अटोले यस्तो धन्दा गरिरहेका छन कुनै सरकारी निकायसंग अभिलेख समेत छैन । नियमन गर्ने कुनै निकाय नभएकै कारण पठाओको नाम जोडेर यात्रु संग भाडा असुल्नेहरुको संख्या बढ्दै गएको छ ।

 सार्वजनिक यातायात नियमन तथा अनुगमन गर्ने,जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी, ट्राफिक प्रहरी जस्ता निकायले अहिले सम्म देखेको नदेखे जस्तो गरिदिंदा कुनै पनि कानूनी निकायबाट अनुमति नलिई  पठाओ को नाममा यात्रु बोकेर ठगि गर्ने काम भईरहेको हो ।

राजधानीमा राईड शेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीको नाम लिएर धादिङ जिल्लाको गाउँ गाउँमा मात्रै होइन वजार क्षेत्र र सदरमुकाम धादिङबेसीमा समेत अबैध ढंगबाट यात्रुको ओसार पसार हुने गरेको छ ।

काठमाण्डौंमा मुख्य कार्यालय रहेको पठाओ नेपाल प्रा.लि.को कानून विभागले धादिङ जिल्लामा कसैलाई पनि पठाओ सेवा सञ्चालनका लागि कुनै अनुमति नदिईएको स्पष्ट पारेको छ । कम्पनीले धादिङ जिल्लामा तत्काल कुनै शाखा, सम्पर्क कार्यालय खोल्ने योजना समेत नबनाएको र हाल सम्म धादिङ जिल्लामा कसैलाई पनि पठाओ सेवा सञ्चालनको लागि अनुमति समेत नदिएको विभागका दिपेश आचार्यले धादिङ न्यूजलाई बताउनुभयो ।

आचार्य भन्नु हुन्छ -‘ हामीले पटक पटक पठाओ संचालन गर्नका लागी हालसम्म धादिङमा कुनै शाखा, सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति नभएकाले यसरी पठाओको नाममा कनै प्रकारको राइड सेरिङ्ग सर्भिस संचालन नगरिदिनु भनेर आग्रह गरेको र त्यसरी आग्रह गर्दा गर्दै पनि हाम्रो आग्रह विपरित गई विभिन्न स्थानमा पठाओ सर्भिस भन्दै नोटिस र सुचना टाँसी सो कार्य संचालन भईरहेको जानकारी भएकाले त्यस्ता व्यक्तिको पहिचान गरी कारवाहीका लागि पहल भईरहेको छ ।

 कुनै ठोस आधिकारीक आधार नभई पठाओ कम्पनिको नाम प्रयोग गरी सो कम्पनीद्वारा उपलब्ध गराईएको सर्भिस अनाधिकृत तरिकाले संचालन गर्नाले कानुनी दायित्व समेत आकर्षित हुने हुँदा कम्पनीको नामको दुरुपयोग गरि गलत काम गर्नेलाई कानून वमोजिम दण्ड सजायँका लागि बाध्य हुने आचार्यले वताउनु भयो ।

पठाओको नाममा मोटरसाइकलवालाहरूले स्थानीयसँग चर्काे मूल्य असुल्दै आएका छन्।ती माेटरसाइकलवालाले सात किलोमिटर दूरीकाे एक हजारदेखि १५ सयसम्म असुल्ने गरेकाे पाइएको छ।कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरि बह्मलुट  हुँदा पनि जिल्लाका नियमन गर्ने निकाय मौन बसिदिंदा गैर कानूनी कार्यले प्रश्रय पाईरहेको आम नागरिकको गुनासो छ ।

अनधिकृत रुपमा यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ ।  सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ ।अनुमतिसमेत नलिई आफूखुसी भाडा तोकेर यात्रु ओसारपसार गर्ने कार्य गैरकानुनी हो । यस्तो कार्य रोक्न पठाओ कम्पनीले मात्रै सक्दैन, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयले चासो राख्नु पर्ने पठाओ कम्पनीका कानून भिाग हेर्ने अचार्यको भनाई छ ।

‘बागमती प्रदेशभित्र  राईड शेयरिङ सेवा दिन चाहने टुटल, पठाओजस्ता राइड शेयरिङ सेवा उपलब्ध गराउँदै आएका कम्पनी  तोकिएको दस्तुर सम्बन्धित यातायात कार्यालयमा बुझाई अनुमति लिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

दुई पांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपाँग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्ने छ । एपमार्फत दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।

गण्डकी प्रदेश सरकारले राईड शेयरिङ सेवा व्यवस्थित गर्न ऐन बनाउन पहल गर्दा केही दिन देखि देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि सरकार त्यो ऐन रोक्न वाध्य भएको छ ।

जिल्लामा सञ्चालनमा रहेका यातायात दिउँसो ४ वजे पछि नपाईने भएपछि वजारबाट गाउँ गाउँमा जाने यात्रु वाध्यताले ठगिधन्दाको शिकार वन्ने गरेका छन् ।