लागू औषध ‘पोल्याण्ड’ सहित गल्छी ५ का तीन युवक पक्राउ

503 पटक पढिएको

४ असार २०८२, बुधबार २१:०९ सम्पादक: धादिङ न्यूज



भक्तपुर। भक्तपुरको सल्लाघारीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई ५.४ केजी लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण मुख्यालय गृहेश्वरी मातहतको औधोगिक सुरक्षा बेस, ब्यासी भक्तपुरबाट खटिएको ७ जनाको टोलीले शनिबार बिहान ११:२० बजे यो कारबाही गरेको हो। भक्तपुर नगरपालिका-१, मुपुच्व गणेश मन्दिर नजिकैको एक क्याफेबाट लागू औषधको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-५ का २० वर्षीय सुमन तामाङ, २३ वर्षीय सुरवीर तामाङ र २३ वर्षीय कमल तामाङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट बरामद गरेका सामानहरू:
लागू औषध पोल्याण्ड: ५.४ केजी,मोटरसाइकल (बा ७५ प २२ नम्बरको बजाज २२०): १ थान,एन्ड्रोइड मोबाइल: ३ थान
नगद: रु. ६,४००/- सहित पक्राउ परेका तीनै जनालाई बरामद गरिएका सामानसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरमा बुझाइएको छ।