विश्व कीर्तिमान राखेका सुनिल खड्का गल्छी गाउँपालिकामा अभिनन्दित
659 पटक पढिएको
गल्छी (धादिङ)- क्ल्याप पुल-अप विधामा गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल धादिङको गल्छी–४ घर भएका खेलाडी सुनिल खड्कालाई गल्छी गाउँपालिकाले सम्मान गरेको छ।
भदौ ५ गते गल्छी गाउँपालिकाले बिशेष कार्यक्रमका बिच खड्कालाई नगद ५० हजार सहित सम्मान गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले खड्कालाई प्रशंसापत्रका साथ नगद ५० हजार प्रदान गर्नुभएको थियो ।
खड्काको मेहनत र साहसले राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा उचो बनाएको भन्दै उनको योगदानको उच्च प्रशंसा गरिएको थियो । कार्यक्रममा वक्ताहरूले खड्कालाई प्रेरणादायी व्यक्तित्वको रूपमा चित्रण गर्दै उनका आगामी लक्ष्यहरूमा सफलताको शुभकामना व्यक्त गरेका थिए।
३२ क्ल्याप पुल-अपसहित विश्व कीर्तिमान
खड्काले हालै एक मिनेटमा ३२ वटा क्ल्याप पुल-अप पूरा गर्दै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन्। यसअघि सन् २०१५ मा अमेरिकाका ब्लेक अस्टिनले बनाएको ३० क्ल्याप पुल-अपको कीर्तिमान उनले तोडेका हुन्। गिनिज वर्ल्ड रेकर्डको नियमअनुसार क्ल्याप पुल-अप गर्दा खुट्टा जमिनबाट टाढा रहनु र ताली बजाउँदा हातका हत्केलाले स्पष्ट रूपमा एकअर्कालाई छुनु अनिवार्य हुन्छ। खड्काले यी सबै मापदण्डहरू पूरा गर्दै विश्व कीर्तिमान हासिल गरेका हुन्।
खड्काको आगामी लक्ष्य
सुनिल खड्काले सम्मान ग्रहण गर्दै आगामी दिनमा क्यालिस्थेनिक्स विश्व च्याम्पियनशिपमा सहभागी भई नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने लक्ष्य रहेको बताए। उनले भने, “यो सम्मान मेरो लागि प्रेरणा हो। अबको लक्ष्य विश्वस्तरीय प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गर्नु हो।” खेलकुदको माध्यमबाट राष्ट्रिय गौरव स्थापित गर्ने प्रयासमा लागेका युवाहरूको सम्मान र समर्थन समाजले गर्नु आवश्यक छ। सुनिल खड्काको उदाहरणले देखाउँछ कि लगन, निरन्तर अभ्यास र लक्ष्यप्रतिको प्रतिबद्धताले विश्वस्तरीय सफलता सम्भव छ।
एसईईमा चार जिपिए ल्याउने गल्छीका दुई छात्रा सम्मानीत
यसै गरी २०८१ सालको एसईईमा ४ जिपिए ल्याउन सफल जनकल्याण मावि गल्छी ४ का छात्राहरु सौरवी वाग्ले र समृद्धि दहाललाई पनि जनही ५० हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरूसँगै उनीहरूका अभिभावकलाई समेत सम्मान गरिएको थियो।









https://shorturl.fm/NHgH9