सिद्धलेकमा अन्तर वडास्तरीय प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगिता

505 पटक पढिएको

५ भाद्र २०८२, बिहीबार २२:५१ सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाली महिलाहरुको महानपर्व तीजको अवसर पारेर धादिङको सिद्धलेक गाउँपालिकामा आयोजित अन्तर वडास्तरीय प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगितामा सिद्धलेक ४ मा रहेको फुलवारी आमा समूह प्रथम भएको छ ।

गाउँपालिकाले बिहीबार कार्यालय परिसरमा आयोजना गरेको प्रतियोगितामा  वडा नम्बर ४ को फुलबारी आमा समूह प्रथम, वडा नम्बर २ को शान्ति स्वास्थ्य आमा समूह द्वितीय, वडा नम्बर १ को सिर्जनशील महिला कृषि सहकारी समूह तृतीय र अमर ज्योति महिला समूह सान्त्वना भएका छन्।

प्रतियोगितामा विजयी समूहलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

गाउँपालिकाकी उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेश सभाका सांसद मायादेवी शर्माको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको बिशेष आतिथ्य रहेको थियो । यसै गरी विभिन्न वडाका वडाअध्यक्षहरु, राजनैतिक दलका पालिका स्तरीय समितिका प्रतिनिधि, महिला समूह, सहकारी संस्थाका प्रतिनिधिहरुको साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरुको  उत्साहजनक सहभागिता रहेको थियो ।

 उद्घाटन  समारोहमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि वागमती प्रदेश सभाका सांसद माया देवी शर्माले तीज पर्व परापूर्वकाल देखि महिला एकताको दिनको रुपमा रहेको बताउनुभयो ।

तीज गीत समय अनुसार परिष्कृत हुँदै गएको सांसद शर्माको भनाई थियो । विगतका दिनमा दुःख वेदनाका कुरा गीत मार्फत भन्ने गरिएकोमा त्यसपछि हक अधिकारका विषय हुँदै अहिले हक अधिकार,शिक्षा, रोजगारी र आत्मनिर्भर लगायतका विषयमा गीत गाउने गरिएको उहाँको भनाइ थियो ।

देशमा राजनीतिक सामाजिक र आर्थिक रुपमा धेरैं परिवर्तन भएपनि सबै अधिकार प्राप्त भने भइनसकेको भन्दै अझै लड्नुपर्ने अवस्था रहेको सांसद शर्माले सम्वोधनका क्रममा बताउनु भयो । गीत संगीतबाट दिएको सन्देश छिटो फैलने भएकोल तीज गीतको महत्व अझै पनि उतिकै रहेको उहाँको भनाई थियो ।

नारीहरूको महान सांस्कृतिक पर्व हरितालिका तीजको संरक्षण, संवर्द्धन, प्रवर्द्धन, र पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहनु भएकी सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले वताउनु भयो ।

 कार्यक्रममा मौलिक तीज परम्परा, रीतिथिति, तथा सांस्कृतिक मूल्य र मान्यताहरूको संरक्षण र जगेर्नामा योगदान पुर्‍याउने  गीतहरु प्रस्तुत गरिएको थियो।