नौबिसे ट्रायम्फ रिसोर्ट : एकैसाथ रोमाञ्चक जिपलाइन र आरामदायी रिसोर्ट सुविधा

715 पटक पढिएको

१२ भाद्र २०८२, बिहीबार १४:०५ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
थांक्रे ( धादिङ) – साहसिक पर्यटनको विकास गर्न सञ्चालनमा आएको धादिङको थाक्रे गाउँपालिका–७, सातघुम्तीस्थित ‘नौबिसे ट्रायम्फ अर्गानिक रिसोर्ट एण्ड जिपलाइन”  पर्यटकको आकर्षण बनेको छ। यहाँ नेपालकै स्टिपेस्ट १.२ किलोमिटर लामो साहसिक जिपलाइन सञ्चालनमा छ।

प्रवन्धक विकास भण्डारीका अनुसार जिपलाइनसँगै अर्गानिक खाना, बस्नका लागि रिसोर्ट तथा होटल सुविधा पनि उपलब्ध छन्। हाल रिसोर्टमा एसीसहित एटेच बाथरूम भएका ९ वटा कोठा छन्। विवाह, पिकनिक र अन्य सेमिनार आयोजना गर्न सकिने व्यवस्था छ भने बालबालिकाका लागि छुट्टै बाल उद्यान समेत छ।

करिब २० करोडको लगानीमा संचालनमा आएको यस रिसोर्ट र जिपलाइनमा शनिवार र विदाका दिनहरुमा चहल पहल बढी हुने  सञ्चालकहरूले बताएका छन्।

जिपलाइनका प्रबन्धकका अनुसार अहिले सम्म यो जिपलाइनमा १० देखि १२ हजार जना पर्यटक यसमा सहभागी भएका छन्। जिपलाइनमा सहभागी हुन प्रतिव्यक्ति रु. २,५०० तोकिएको छ। यस शुल्कमा वेलकम स्न्याक्स, डिनर, ब्रेकफास्ट र एक रातको बसाइँ समेत समावेश गरिएको रिसोर्ट व्यवस्थापनले जनाएको छ।

जिपलाइनमा १० वर्षमाथिका व्यक्तिलाई मात्र अनुमति दिइन्छ भने उच्च रक्तचाप भएका मानिसलाई नचढ्न सिफारिस गरिएको छ। शनिबार र सार्वजनिक बिदामा यहाँ पर्यटकको भीड हुने गरेको बताइएको छ।

करीब एक सय सत्ताइस रोपनी जग्गामा फैलिएको रिसोर्ट र जिपलाइनमा अहिलेसम्म बीस करोड रुपैयाँ लगानी भइसकेको छ। आगामी दिनमा रिसोर्टलाई विस्तार गर्दै स्विमिङ पूल निर्माण गर्ने योजना रहेको सञ्चालकले बताएका छन्।

रिसोर्टदेखि जिपलाइन पिकअप स्टेसन सडकबाट जाँदा ४ किलोमिटरको दूरीमा पर्छ । त्यहाँसम्म रिसोर्टकै गाडीले लैजाने व्यवस्था छ ।

बागमती प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले २०७९ साल वैशाख ७ गते (सन् २०२२ अप्रिल २० गते) यसको उद्घाटन गरेका थिए।

जिपलाइनको विशेषता

यो जिपलाइन नेपालकै स्टिपेस्ट मानिएको छ। यसको प्रविधि अन्य जिपलाइनभन्दा फरक छ, जहाँ बञ्जी जम्पमा प्रयोग हुने उच्च गुणस्तरको हार्नेस, डबल सेफ्टी रोप र मानिसको तौलअनुसार समायोजन हुने म्याग्नेटिक ट्रलीको प्रयोग गरिएको छ। यसमा सवार हुँदा मिनी बञ्जी जम्प बराबरको साहसिक अनुभव मिल्ने सञ्चालकहरूको दाबी छ। हालसम्म करिब १० देखि १२ हजार पर्यटकले यस जिपलाइनको मजा लिइसकेका छन्।

जिपलाइनको दूरी ११ सय मिटर छ । जिपलाइनबाट हरियालीसँगै विभिन्न हिमालसमेत देख्न सकिन्छ । जिपलाइनको दूरी पार गर्न न्युनतम ३८ सेकेन्डको समय लाग्ने रिसोर्टका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक अनिश खड्गीले बताउनु भयो ।

कहाँ छ यो जिप लाइन

यो रिसोर्ट र जिपलाइन धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७, त्रिभुवन राजपथको सातघुम्तीमा अवस्थित छ। नौबिसेबाट ७ किलोमिटर र काठमाडौंबाट करिब ३० किलोमिटर दूरीमा रहेको यस स्थलमा त्रिभुवन राजपथ हुँदै दामन–हेटौडा जाने मार्ग प्रयोग गर्न सकिन्छ।