काँग्रेस भन्छ अध्यक्ष माथि हातपातको प्रयास भो ,स्थानीय भन्छन् ‘गाउँपालिका अध्यक्ष संग भनाभन हो’
1008 पटक पढिएको
धादिङ- नेपाली काँग्रेस सिद्धलेक गाउँपालिका समिति र प्रदेश सभा क्षेत्रीय समितिले बिज्ञप्ति निकालेर भदौ ९ गते राति सिद्धलेक–१ कालिदहस्थित नवराज श्रेष्ठको घरमा सिद्धलेक गाउँपालिका अध्यक्ष माथि हातपातको प्रयास र दुर्व्यहार भएको भन्दै दोषी माथि कारवाहीको माग गरेका छन ।
नेपाली काँग्रेस सिद्धलेक गाउँपालिका समितिका सभापति रामशरण गिरीले भदौ १२ गते जारी गरेको प्रेस बिज्ञप्तिमा सिद्धलेक–१ कालिदह स्थित नवराज श्रेष्ठको घरमा राती ८.३० वजेको समयमा छलफलमा बसिरहेको अबस्थामा कृष्ण गुरुङसहितको समूहले घरको ढोका जबर्जस्ती फुटाई प्रवेश गरी गाउँपालिका अध्यक्ष परशुराम खतिवडा माथि अभद्र, अमर्यादित तथा गुण्डागर्दी शैलीमा हातपात गर्ने प्रयास गरेको उल्लेख गरिएको छ ।
यस प्रकारको कार्यले स्थानीय सरकार प्रमुखमाथि मात्र नभई सम्पूर्ण स्थानीय लोकतान्त्रिक अभ्यासमाथि नै आक्रमण भएको हामी गम्भीर रुपमा लिन्छौं। अतः यस घटनामा संलग्न कृष्ण गुरुङसहित सम्पूर्ण व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सम्बन्धित प्रशासनसँग कडा माग गर्दछौं सभापति गिरीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।
सोही घटनालाई लिएर नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ (ख) प्रदेश क्षेत्रीय कार्य समितिका सभापति बिष्णु प्रसाद रुपाखेतीले हस्ताक्षर गरि भदौ १३ गते बिज्ञप्ति जारी गर्दै कृष्ण गुरुङ सहितका व्यक्तिले गाउँपालिका अध्यक्ष माथि अभद्र व्यवहार गरिएको भन्दै दोषि माथि कारवाहीको माग गरिएको छ ।
“हामीले भेट्न खोज्दा उहाँ व्यस्त छु भन्नुहुन्थ्यो,फोन मार्फत बिहानै बाट फुटबल प्रतियोगिताको बिषयमा सल्लाह गर्नुपर्यो भन्दा म सँग समय छैन भ्याउदिँन भन्नुभयो,तर त्यस रात ८ः३० बजेको समयमा कालिदह स्थित नवराज श्रेष्ठको घरमा सरकारी गाडी छ भन्ने थाहा पाएपछी हामी त्यहीँ भेट्न गएका हौँ,भेटपछी केही युवाहरु आक्रोशित बने,सामान्य भनाभन भयोआंफुले हातपात नगरेको अध्यक्ष संग भनाभन भएको गाउँपालिका अध्यक्षलाई अर्काको घर भित्र पसेर हातपातको प्रयास गरेको आरोप लागेका कृष्ण गुरुङले स्विकार गरेका छन् ।
सिद्धलेक –१ का युवाहरुले गाउँपालिका अध्यक्षसंग भेट्न केही दिन देखि पटक पटक समय माग्दा अध्यक्षले समय नदिएको र आंफुँ व्यस्त भएको बताउँदै आएकोमा सोमबार राती नवराज श्रेष्ठको घरमा अध्यक्षलाई देखे पछि भेटेर कुराकानी गर्न खोज्दा घटनालाई अतिरन्जित गरिएको गुरुङ वताउँछन् । ।
सोमबार दिउँसो पनि भेट्न खोज्दा समय नदिएपछि आक्रोशित भएका युवाले रातीको समयमा अध्यक्षलाई भेटेपछि कुराकानी गर्न खोज्दा भनाभन भई दुवै पक्षबाट अश्लिल शव्दहरु प्रयोग भएको र केही युवाले सो भिडियो समेत खिचेको भएपनि त्यहाँ बोलेका शव्द निकै अपाच्य र अश्लिल भएकाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्न नसकिने अवस्था रहेको युवाहरुले वताएका छन् ।
हातपातको प्रयास गरिएको भनेर नेपाली काँग्रेसको तर्फ बिज्ञप्ति आउनु भनेको सिद्धलेक–१ को नयाँबस्तीमा रहेको म्हेन्दोमाया युवा समाजको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह आयोजनामा वडा नम्बर १ का बाँजगैरा खेल मैदानमा असोज ६ गते देखि ८ गते सम्म हुन गईरहेको प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटवल प्रतियोगिता आयोजना गर्ने सहमती विगार्न खोजिएको हुन सक्ने नयाँ बस्तीका जोन लामाले बताए ।
घटनाको बिषयमा अध्यक्ष खतिवडाको तर्फबाट अहिले सम्म सार्वजनिक रुपमा कुनै प्रतिकृया नआउनुले घटना थप रहस्यमय बनेको छ ।








