ग्रिसकी भलिबल स्टार इभान्जेलिया चान्टाभा नेपालमा
302 पटक पढिएको
काठमाडौं – ग्रिसकी राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा आगामी ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन नेपाल आइपुगेकी छन्। भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने प्रतियोगितामा उनी कर्णाली यशभिसको टिमबाट खेल्नेछिन्।
सानो उमेरदेखि पेशागत भलिबलमा सक्रिय चान्टाभाले सन् २००५ देखि इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इन्डोनेसिया, जापान लगायतका देशमा क्लब भलिबल खेलेकी छन्। उनको टिमले दर्जनौं पटक च्याम्पियनको उपाधि जितिसकेको छ भने उनी व्यक्तिगत रूपमा पनि धेरै पुरस्कार प्राप्त गरिसकेकी छन्। नेपाली मैदानमा आउटसाइड हिटर चान्टाभाको यो पहिलो यात्रा हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै चान्टाभाले नेपालमा खेल्न पाउँदा खुसी लागेको बताइन्। उनले कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने लक्ष्यका साथ मैदानमा उत्रने पनि जानकारी दिइन्।
कर्णाली यशभिसले ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ, जो सोमबार साँझ नेपाल आइपुग्ने छन्। यसैगरी, टिमले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर बनाएको छ भने प्रशिक्षक कुमार राईर मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिँदै लिगको अन्तिम तयारी गरिरहेको छ।







