धादिङ–मलेखु सडक (कालुपाण्डे मार्ग)को दारेगौँडाभिर उच्च जोखिममा

384 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार १३:४७ सम्पादक: धादिङ न्यूज

धादिङ । बर्खा सुरु भएसँगै धादिङ–मलेखु सडक खण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–८ स्थित दारेगौँडाभिर फेरि उच्च जोखिममा परेको छ।

कालु पाण्डे मार्गअन्तर्गत पर्ने सो भाग सडक कालोपत्र भएको २०५८ सालयता निरन्तर भासिँदै आएको छ। पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिरो खस्ने क्रम बढ्दै गएको स्थानीयवासीहरूले बताएका छन्।

हाल सडकको करिब एक सय मिटर लम्बाइमा भासिँदा सवारीसाधनले आधा भाग झुण्ड्याएरै आवतजावत गर्नुपर्ने बाध्यता छ। ठूला गाडी पार गर्दा यात्रु र चालक दुवैलाई दुर्घटनाको उच्च जोखिम हुने गरेको चालकहरूले गुनासो गरेका छन्।

गत वर्ष नुवाकोट सडक डिभिजनले मर्मत सुरु गरे पनि भूगोलको अध्ययन नगरी हचुवाका भरमा गरिएको काम अधुरै छोडिएको स्थानीयवासीको आरोप छ। हालसम्म ग्यावियन जाली जस्ता अस्थायी उपाय मात्र प्रयोग गरिएको भए पनि स्थायी समाधान हुन सकेको छैन।

विशेषज्ञहरूका अनुसार तलतिरको थोपल खोलासम्म पर्खाल उठाएर दीर्घकालीन संरचना बनाउनुपर्ने आवश्यकता छ। स्थानीयले वैकल्पिक बाटो (देउराली चौतारा–मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरे) प्रयोगयोग्य बनाउन माग गरेका छन्। तर हाल त्यो बाटो हिलो र खाल्डाखुल्डीका कारण प्रयोगमा आउन सकेको छैन।